मंगलबार, साउन २६, २०८३

ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- ढोरपाटन सिकार आरक्षबाट अवैध हतियार बरामद गरिएको छ। लुिकछिपी सिकार खेल्नेले लुकाएका हतियार, बारुद, सिसालगायत सामग्री बरामद गरिएको हो।

देशको एकमात्र वैधानिक सिकार गन्तव्य ढोरपाटनमा बेलाबेला वन्यजन्तुको अवैध चोरी–सिकार हुँदै आएको छ। विभिन्न समयमा बरामद गरिएका हतियार बागलुङस्थित जिल्ला सुरक्षा समितिलाई बुझाइएको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्दप्रसाद कँडेलले जानकारी दिए। एक थान एसएलआर राइफल र आठ थान भरुवा बन्दुक बरामद गरिएको हो। ती सबै हतियार रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा पर्ने आरक्ष क्षेत्रबाट बरामद गरिएका हुन्।

पछिल्ला तीन वर्षमा आरक्षले दुई घोरल र एक नाउरको छालासहित पक्राउ परेका अवैध सिकारीलाई पक्राउ गरी मुद्दा चलाएको छ। जडीबुटी र काठको चोरी–सिकारमा संलग्न १६ जनालाई कारबाही गरिएको छ। जनशक्ति अभावले तीन जिल्लामा फैलिएको आरक्षको सबै क्षेत्रमा सुरक्षा निगरानी गर्न नसकिएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए।

आरक्षमा बर्सेनि दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार कम्पनीबीच प्रतिस्पर्धा गराई सिकारको अनुमति दिने गर्छ। आरक्षमा नेपाल ट्राभल एक्सपिडिसन, ग्लोबल सफारिज, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाईफ आउटफिटर, ट्र्याक एण्ड ट्रेल्सलगायत सिकार कम्पनीले सिकार खेलाउँदै आएका छन्।

बर्सेनि असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा सिकार खुला हुन्छ। वर्षमा बीस नाउर र एघार झारलको सिकार गरिन्छ। आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ‘ब्लक’ छन्। सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। सिकारी हेलिकप्टरबाट आरक्षमा पुग्छन्। एक हजार तीन सय २५ वर्ग किमिमा फैलिएको उक्त आरक्ष बागलुङ, म्याग्दी र पूर्वी रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ।

प्रकाशित: Jul 02, 2023| 20:23 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्