बुधबार, वैशाख ३०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गरिबलाई होइन, हुनेखानेलाई कर लगाइएको हो: अर्थमन्त्री महत

गरिबलाई होइन, हुनेखानेलाई कर लगाइएको हो: अर्थमन्त्री महत

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

National life

काठमाडौं- अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई हेरेर केही वस्तु तथा सेवामा कर वृद्धि गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा छलफलका लागि पेस भएको आर्थिक विधेयक २०८० मा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले गरिबको पक्षमा रहेर बजेटमा करको व्यवस्था गरेको दाबी गरेका हुन्।

महतले भने, 'सरकारले हवाई भाडामा लगाएको कर आवश्यकता देखेर लगाएको हो। मुलुकभित्रै एउटा हैसियत बनाएका मानिसको लागि सरकारले कर लगाएको छ। हैसियत भएका वर्गहरुको लागि लक्षित गरेर केही वस्तु तथा सेवामा कर बढाएका छौं, न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा कर बढाएका छैनौं।’ मन्त्री महतले न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवामा सरकारले कर नबढाएको दाबी गरे।

‘सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको छ। विलासिता कर भनेर पाँचतारे होटल वा त्यही स्तरको रिसोर्टमा लगाएको छ। त्यहाँ धनीहरु मात्रै जान्छन्, केही सामान्य कर वृद्धि भएर उनीहरु त्यहाँ जान छोड्दैनन्। त्यसकारण यो प्रगतिशिल कर हो,’ उनले भने। ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको र यो व्यवस्थाले पनि गरिबलाई नछुने उनले बताए। ‘१० लाख भन्दा बढी हिरामोति खरिद गर्ने र ५० लाख भन्दा बढी आम्दानी गर्नेको लागि कर बढाइएको छ, यसरी सरकारले अलि हुने खानेलाई मात्रै लगाएको छ,’ महतले भने।

प्रकाशित: Jul 02, 2023| 17:35 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्