बिहीबार, असार ४, २०८३

पानी नपरेपछि गोरखामा रोपाइँ गर्न ढिलाइ

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

गोरखा– पानी नपरेपछि गोरखामा धान रोपाइँमा ढिलाइ भएको छ। पानी नपरेकै कारण मध्य असारसम्म जिल्लामा करिब १ हजार २ सय ६० हेक्टर क्षेत्रफल जमिनमा मात्र धान रोपाइँ भएको छ। जुन अघिल्ला वर्षहरूको तुलनामा कम हो।

National life

‘मनसुनी वर्षाको आवश्यक नपर्ने खेतमा धमाधम रोपाइँ भए पनि आकासे पानीको भर पर्नुपर्ने धान रोपाइँमा ढिलाइ भएको हो। अहिलेसम्म १ हजार २ सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान रोपाइँ भएको छ’ कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने।

अघिल्लो वर्ष यतिबेला जिल्लाभित्र २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको उनले जानकारी दिए। ‘अघिल्लो वर्षको तुलनामा जिल्ला यस वर्ष रोपाइँमा ढिलाइ भएको छ,’ उनले भने। मुख्यगरी दरौदी करिडोर क्षेत्रका फाँट तथा खेतमा भने आकासे पानी नपर्दा पनि रोपाइँ गर्नका लागि पानी अभाव नहुने भएकाले ती क्षेत्रमा रोपाइँ भइसकेको उनको भनाइ छ।

‘आकासे पानीको भर पर्नुपर्ने क्षेत्रमा मनसुनी वर्षा नभएसम्म रोपाइँ गर्न सक्ने अवस्था हुँदैन,’ उनले भने। सिँचाइ सुविधा भएका ती क्षेत्रमा मात्र रोपाइँ सकिएको उनले बताए। जिल्लाको दक्षिणी भू-भागमा धेरैजसो बर्खे धानखेती हुने गरेको उनले जनाए।

यहाँका खेतीयोग्य जमिनमध्ये जिल्लाको ३५ प्रतिशत भू-भागमा मात्र धानखेती हुने उनको भनाइ छ। ‘धानखेती हुने जमिनमध्ये पनि करिब ३८ प्रतिशत खेतमा मात्र सिँचाइको सुविधा पुगेको छ,’ उनले भने, ‘बाँकी जमिनमा रोपाइँ गर्न भने आकासे पानीको भर पर्नुपर्ने बाध्यता छ।’

Shivam cement

गोरखामा करिब १० हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुने गरेको उनले जानकारी दिए। जिल्लाभित्रका सबै पालिकासँग नियमित रूपमा धान रोपाइँको तथ्यांक लिएर कार्यालयले मन्त्रालयमा जानकारी गर्ने काम भइरहेकोसमेत उनले बताए।

गोरखामा सावित्री, रामधान, सुक्खा-१, सुक्खा-२, सुक्खा-३, महाराजा, च्याम्पियन, युस-३१२ जातका धान रोप्ने गरिएको छ। पछिल्लो समय किसानले अन्य केही उन्नत जातको धानका बिउ पनि लगाउन सुरु गरेका छन्। रोपाइँ गर्न आधुनिक यन्त्र, उपकरणहरूको प्रयोग पनि बढ्दै गएको छ।

प्रकाशित: Jul 02, 2023| 22:32 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्