बिहीबार, असार ४, २०८३

बेनी-गलेश्‍वर सडक स्तरोन्‍नतिमा उल्लेख्य प्रगति

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

म्याग्दी- उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक योजनाअन्तर्गत बेनी-गलेश्वर सडक स्तरोन्नतिको काममा भएको भौतिक प्रगतिले चौतर्फी प्रशंसा बटुलेको छ।

National life

कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका-८ कालीपुलबाट वडा ९ गलेश्वर जोड्ने बेनी-गलेश्वर खण्डमा ५ महिनामा ८० प्रतिशत भौतिक प्रगति भएको हो।

जिल्लामा भित्रिएका ठूला योजनामा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको कामले चौतर्फी प्रशंसा बटुलेको बेनी नगरपालिका-९ का वडासदस्य गणेश सुवेदीले बताए।

‘बेनी-गलेश्वर सडक आयोजनामा छोटो समयमा हासिल भएको प्रगतिले ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको,’ उनले भने, ‘निर्माण व्यवसायीको इच्छाशक्ति, जनशक्ति, उपकरण परिचालन व्यवस्थित हुने, निर्माण सामग्रीको पर्याप्त व्यवस्थापन गर्ने तथा सरोकारवालाले नियमनसँगै सहजीकरण गर्ने हो भने ढिलासुस्ती हटाउन सकिने सन्देश दिएको छ।’

बेनी-जोमसोम कोरला सडक योजना प्रमुख जगत प्रजापतिले करिडोरअन्तर्गत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी-गलेश्वर रहेको बताए।

Shivam cement

उनका अनुसार ०७९ माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चारवटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकिएको छ।

‘यस सडकमा बेस हाल्न र कालोपत्र काम मात्र बाँकी छ,’ उनले भने, ‘बर्खा रोकिनेबित्तिकै सम्पन्न गर्ने तयारीमा निर्माण कम्पनी र आयोजना कार्यालय छ।’

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले ठेक्का सम्झौतालगत्तै योजनास्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई ८ मिटरको फराकिलो बनाउने, सडक तलमाथि पर्खाल, चारवटा कल्भर्ट, २ सय मिटर आरसिसी ढलानको काम सकिएको बताए।

२ किलोमिटर १ सय २ मिटर सडक कालोपत्र गर्नका लागि कम्पनीले भ्याट/ पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४ सय ३६ मा ठेक्का लिएको थियो। २ वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीबीच सम्झौता भएको थियो।

मुक्तिनाथ प्रवेशद्वारका रूपमा रहेको यो सडकखण्डलाई समयमै सम्पन्न गर्न आयोजनाका साथै स्थानीय रूपमा नियमित रूपमा अनुगमन, निरीक्षण र समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए।

यो सडक कालोपत्र भएपछि बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका, मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने छ।

कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँघुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र करिडोरको सक्रियतामा योजना अघि बढेको थियो।

प्रकाशित: Jul 02, 2023| 21:41 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्