इन्डो–नेपाल डाक्टर्स फोरमले सीमा क्षेत्रका नागरिकलाई लक्षित गरी जनकपुरमा अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को शाखा खोल्न दुवै देशका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएको छ।
जनकपुरधाममा आयोजित कार्यक्रममा फोरमले नेपाल–भारतको सीमा क्षेत्रमा रहेका नागरिकले गुणस्तरीय र सुलभ स्वास्थ्य सेवाबाट बञ्चित हुनुपरेकाले एम्सको शाखा खोल्नुपर्ने आवश्यकता औँल्याएको छ।
मधेस प्रदेशका प्रमुख हरिशङ्कर मिश्रले माता–सीता र श्रीरामको सम्बन्ध जोडिएको मिथिला राजधानी जनकपुरमा सुविधासम्पन्न अस्पताल बनाउन भारत सरकारलाई आग्रह गरे। उनले सेवा नै परमोधर्म भनेर काम गर्नुपर्ने स्वास्थ्य क्षेत्र पछिल्लो समय नाफामुखी बन्दै गएकाले दुवै देशको सीमा क्षेत्रमा बस्ने कमजोर नागरिकको हितका लागि पनि यस क्षेत्रमा अस्पताल बनाउन जरुरी रहेको धारणा राखे।
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले नेपालमा मेडिकल शिक्षा अध्ययनका क्षेत्रमा भारत सरकारको सहयोग अतुलनीय रहेको भन्दै भारत सरकारले चाहेमा एम्सको शाखा जनकपुरमा खोल्न सकिने बताए। उनले सामाजिक, सांस्कृतिक सम्बन्धजस्तै नेपाल–भारतबीच चिकित्सा क्षेत्रमा पनि वर्षौँदेखि सुमधुर सम्बन्ध रहेको र डाक्टर्स फोरमको मागअनुसार अस्पताल बनेमा त्यो सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
“नेपालमा धेरै डाक्टरहरू एक्सबाट पढेर आएका छन्। त्यहाँको सरकारले वीर अस्पतालदेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भरतपुर क्यान्सर अस्पतालदेखि धेरै क्षेत्रमा ठूलो सहयोग गरेको छ। जसबाट नेपालमात्र नभई भारतीय नागरिकले पनि स्वास्थ्य सेवा पाएका छन्। त्यसबाहेक लहान, विराटनगरलगायतका अस्पतालमा ठूलो सङ्ख्यामा भारतीय नागरिक उपचार गर्न आउँछन्। नेपालबाट त ठूला जटिल स्वास्थ्य समस्या आएमा नेतादेखि आम नागरिकले भारत जानुपर्ने बाध्यता छ। यसलाई मध्यनजर गरी नेपालमा वा सीमा नजिक एम्सको शाखा खोल्न जरुरी छ”, यादवले भने।
कार्यक्रममा भारतीय लोकसभा सांसद एवं भारतीय जनता पार्टीका नेता अजय निसादले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत सरोकारवालासमक्ष जनकपुरमा अस्पताल खोल्ने प्रस्ताव राख्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। दुई देशका चिकित्सक मिलेर स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न लाग्नु सराहनीय भएको र यसले जनकपुरमा सुविधासम्पन्न अस्पताल बनाउन पनि सहज हुने उनको भनाइ थियो।
कार्यक्रममा भारतका प्रसिद्ध डा नवलकिशोर सिंह, डा साहजनन्दप्रसाद सिंह, भारतीय जनता पार्टीका नेता एवं अभियन्ता अमर सिंह, नेपाल प्रतिनिधि एवं फोरमका उपाध्यक्ष डा पुरुषोत्तमकुमार ठाकुर, धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललगायतले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न यस क्षेत्रमा सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउने कुरामा सबैको सहयोग रहनुपर्ने धारणा राखे।