पेरीस (एजेन्सी)- लिग वनमा शुक्रबार भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । पीएसजीले लिललाई २-१ ले पराजित गर्दै लगातार १२ औं जित निकालेको हो ।
पीएसजीको जितमा युवा स्टार खेलाडी केलियन एमबाप्पे नायक भए । एमबाप्पेले पीएसजीको दुई वटै गोलमा महत्वपुर्ण भुमिका निभाएका थिए । उनले एक गोल गरेका थिए भने अर्को गोलका लागि असिस्ट गरेका थिए ।
यस जितसँगै पीएसजीले शीर्ष स्थानमा अग्रता बढाउन सफल भएको हो । पीएसजीलाई जित दिलाउन निकै प्रतिस्पर्धात्मक खेलमा किलियन एमबाप्पे र नेयमारले गोल गरे । खेलको अन्तिम समयमा लिलले सान्त्वना गोल फर्काएको थियो ।
दोस्रो हाफमा युवा फरवार्ड एमबाप्पेले पीएसजीलाई अग्रता दिलाए । उनले मिडफिल्डबाट आएको पासलाई ७० औं मिनेटमा गोल गरेका हन् । त्यसको १४ मिनेटपछि नेयमारले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे ।
निकोलस पेपेले खेलको अन्तिम मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर पीएसजीले अग्रता कायम राख्दै १२ औं जित दर्ता गर्यो । यस जितसँगै पीएसजीले १२ खेलमा ३६ अंक पुर्याएको छ । दोस्रो स्थानमा रहेको लिलको २५ अंक छ । गोलरहित रहेको पहिलो हाफमा पीएसजीले पाएको मौका सदुपयोग गर्न सकेन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४