शुक्रबार, असार ५, २०८३

आरन व्यवसाय संकटमा

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

खलंगा- दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ। त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिकजसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार।

National life

उनी एक हातले घन र अर्को हातले पंखा घुमाइरहन्छन्। लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउँछन्। बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिकेका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो। ‘यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ,’ लुहारले भने।

आरन पेसा अपनाउँदै आएका लुहार बिगतमा निकै दुःख खेप्नु परेको बताउँछन्। केही वर्ष अघिसम्म आरन व्यवसायमार्फत अन्नमात्रै पाउँदै आएका उनले केही समय नगदमै पनि कारोबार गरे। तर पछिल्लो समय आफ्नो छोरा पुस्ताले आफ्नो पेसा नअपनाएकोमा उनलाई दुख छ। ‘छोराहरूले यो पेसा अपनाउन चाहँदैनन्,’ उनले भने, ‘अब पेशा संकटमा पर्ने चिन्ता छ।’

पछिल्लो समय बजार अभाव पनि हुँदै गएको उनको भनाइ छ। ‘बजार अभाव छ, त्यसैले आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ,’ स्थानीय दीपेन्द्र धामीले भने। परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ।

आरन व्यवसायी गंगाराम लुहार यही पेसालाई आधुनिक ढंगले व्यावसायिक रूपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउँछन्। ‘अहिलेका युवाको यो पेसाप्रति चासो छैन,’ उनले भने।

Shivam cement

पहिले गाउँघरमा आरन व्यवसाय गर्नेको संख्या उल्लेख्य रहेकोमा पछिल्लो समय व्यवसायी समेत घट्दै गएका छन्। भाँडाकँुडा बनाउन कोइलाको प्रयोग गरिन्छ। अहिले दाउराको पनि अभाव हुन थालेको छ। स्थानीय गजेन्द्र लुहारले भने, ‘मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ।’ आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए। रासस

प्रकाशित: Jul 01, 2023| 18:03 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्