काठमाडौं –नेपाल उद्योग परिसंघ (सीएनआई) मा हालै निर्वाचित पदाधिकारीसहितको टोलीले कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थतन्त्रबारे छलफल गरेको छ। अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले सभापति देउवालाई अर्थतन्त्रलाई गतिदिने विषयमा छलफल गरेको सीएनआईले जनाएको छ।
छलफलमा अध्यक्ष अग्रवालले राजनीतिक दलहरुले आर्थिक मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव देउवालाई दिए। सीएनआईले अर्थतन्त्र सुधारका लागि आर्थिक विषयलाई प्राथमिकतामा राखेर काम गर्दै आएको अग्रवालको भनाइ छ।
भेटमा सभापति देउवाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिँदै अर्थतन्त्र सुधार तथा निजी क्षेत्रको विकासलाई कांग्रेसले प्राथमिकतामा राख्दै आएको बताए। अर्थतन्त्र सुधारका लागि सरकार निजी क्षेत्रको साथमा रहेको भरोसा उनले सीएनआई टोलीसँग व्यक्त गरे।
देउवासँगको भेटमा उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, परिसंघ स्थायी आमन्त्रित सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशी सहभागी थिए।