शुक्रबार, असार ५, २०८३

हराउँदै बाँसबाट बनेका सामग्री

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

म्याग्दी- प्लास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लोजस्ता सामानलाई विस्थापित बनाएको छ।

National life

कम लागतमा तयार पार्न सकिने आर्थिक रूपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सीपको पुस्तान्तरण पनि हुन सकेको छैन।

नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रवर्द्धन, संरक्षण र प्लास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ मा रहेको शिख माविका विद्यार्थीलाई निगोलोबाट सामान बनाउने तालिम दिइएको छ।

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा कक्षा ८, ९ र १० का ४० जना विद्यार्थीलाई बिहीबार र शुक्रबार सीपमूलक तालिम दिइएको प्रअ केदार कार्कीले बताए।

उनले भने, ‘वातावरणलाई दूषित बनाउने र पैसा बाहिरिने प्लास्टिक जन्य सामानको विकल्पमा निगालोका सामग्रीको प्रयोग बढाउने र सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। निगालोबाट सामान बनाउने आधारभूत सीप सिकेका विद्यार्थीले बर्खे बिदामा बनाउने सामग्री विद्यालयले खरिद गर्छ।’

Shivam cement

फोहर फाल्न प्रयोग हुने प्लास्टिकको डस्टिबिनको विकल्पमा निगालोको डाली र डोका उत्पादन गर्न विद्यार्थीलाई बर्खे बिदाको गृहकार्य दिइएको हो।

उनीहरूलाई शिखका बोमबहादुर पुन र किन्दुका चन्द्रबहादुर सुनारले निगालोबाट चोया र चोयाबाट विभिन्न सामान बनाउने सीप सिकाएका थिए।

ग्रामीण क्षेत्रमा केही वर्षअघिसम्म निगालोबाट बनाइएइका थुन्से, डोका, डाली, नाम्लो, दाम्लो, भकारी, नाङ्लोका सामग्रीको प्रयोग हुने गर्दथ्यो। प्लास्टिकजन्य सामानको आयात हुन थालेपछि निगालोका सामानले बजार नपाउँदा सीपयुक्त जनशक्ति परम्परागत पेसाबाट पलायन र सामान खरिद गर्दा नगद बाहिरिएको छ।

उच्च पहाडी क्षेत्रको जंगलमा प्रशस्त पाइने निगालो प्रयोग हुन नसकेर खेर गइरहेको छ। परम्परागत सीपको संरक्षण र नयाँ पुस्तालाई हस्तान्तरण गरी वातावरणलाई असर पुग्ने प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा आयात घटाउने र रोजगारी सिर्जना गराउने उद्देश्यले तालिम सञ्चालनमा सहयोग गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बताए।

प्रकाशित: Jul 01, 2023| 09:24 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्