शुक्रबार, असार ५, २०८३

झापामा सहिदका स्मृतिमा सडकको नामकरण

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

झापा- मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ।

National life

मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद विश्वनाथ घिमिरे मार्ग’ नामकरण गरेको नगरप्रमुख गोपाल बुढाथोकीले बताए।

यो सडक १९ किलोमिटर लामो छ। यसअघि यो सडकलाई मेची करिडरको रूपमा परिचित थियो। यसैगरी, पूर्वपश्चिम राजमार्गकै धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुर नगरपालिकाको घोडामारा जोड्ने १५ किलोमिटर सडकलाई ‘सहिद वीरेन राजवंशी मार्ग’ नामकरण गरिएको उनले जानकारी दिए।

मेचीनगर नगरपालिकाको शुक्रबार सम्पन्न नगरसभामा विशेष प्रस्ताव अनुमोदन गरेर ती दुई सडकको नामकरण गरिएको हो।

विसं २०२९ फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने निहुँमा झापा र इलामको सीमानास्थित सुखानी जंगलमा पञ्चायती शासकले गोली हानी कम्युनिष्ट राजबन्दी वीरेन राजवंशीको हत्या गरेका थिए।

Shivam cement

झापा विद्रोहको क्रममा भएको सो घटनामा राजवंशीसँगै पाँच जना विद्रोही नेताको हत्या भएको थियो। जसलाई  सरकारले सहिदको रुपमा सम्मान दिइसकेको छ। सहिद वीरेन राजवंशीको घर सोही सडकको ज्यामिरगढी खण्डमा रहेको छ।

त्यसैगरी सहिद विश्वनाथ घिमिरेलाई ‘झापाका प्रथम सहिद’को रुपमा सम्मान दिइँदै आएको छ। नेपाली कांग्रेसको नेताको रुपमा तत्कालीन बाहुनडाँगीको जनपक्षीय प्रधानपञ्च निर्वाचित घिमिरेलाई पञ्चायती शासकले विसंं २०१९ जेठ ३१ गते निन्दा खोलाको किनारमा बाटो छेकी गोली हानी हत्या गरेका थिए।

सहिद राजवंशीको ज्यामिरगढीमा र सहिद घिमिरेको बाहुनडाँगीमा प्रतिष्ठान तथा शालिक निर्माण भएको छ। आफ्ना हजुरबुबाले नेपालको लोकतान्त्रिक आन्दोलनमा दिनुभएको शहादतको मूल्यांकन गर्दै नगरपालिकाले सडकको नामकरण गरेकोमा सहिद विश्वनाथ घिमिरेका नाति पंकज घिमिरेले धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित: Jul 01, 2023| 08:57 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्