मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद र १८ करोड जरिवाना

आयल निगमका पूर्व कार्यकारी निर्देशक खड्कालाई १५ महिना कैद र १८ करोड जरिवाना

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- विशेष अदालतले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको छ। आज विशेष अदालतको तीन सदस्यीय इजलासले उनलाई दोषी ठहर्‍याउँदै सजाय सुनाएको हो।

खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ। साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ।

न्यायाधीशत्रय श्रीकान्त पौडेल, शालिकराम कोइराला र खुशीप्रसाद थारुको इजलासले फैसला सुनाएको हो। फैसलामा ९ करोड १९ लाख ६ हजार ६३४ रुपैयाँ जरिवाना र सोही बराबर बिगो तोकिएको छ।

खड्काले गैरकानुनी रुपमा १८ करोड रुपैयाँभन्दा बढी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस १३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। २०६९ चैत २ देखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेको र उक्त लगानीमा ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले निष्कर्ष निकालेको थियो।

 

प्रकाशित: Jun 30, 2023| 15:58 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्