सोमबार, जेठ ७, २०८१

बिरुवा रोपेको एक वर्षमै फल्यो अर्नाकोटमा स्याउ

बिरुवा रोपेको पहिलो वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्ष निसीखोलामा लटरम्म फल्यो इटालियन गाला फुजी जातको स्याउ।
 |  शुक्रबार, असार १५, २०८०

डम्मर बुढामगर

डम्मर बुढामगर

शुक्रबार, असार १५, २०८०

ढोरपाटन- बागलुङको निसीखोला गाउँपालिका–२ अर्नाकोटका दुर्गाबहादुर ओलीले अघिल्लो वर्ष पोखराबाट इटालियन गाला फुजी जातको २२ वटा स्याउका बिरुवा लिएर लगाए। परीक्षणका रुपमा लगाएको स्याउले एकै वर्षमा फल दिन थालेपछि ओलीले यस वर्ष थप २७ वटा बिरुवा लगाएका छन्।

triton college

सुरुमा लगाएका २२ बिरुवामध्ये दुईवटा मरे अहिले २० वटा बोटमा स्याउ फलेका छन्। स्याउले सानै बोटमा फल दिन थालेपछि गाउँका अन्य कृषक पनि हर्षित भएका छन्। दुर्गाबहादुरले स्याउका बिरुवा लगाएपछि अर्नाकोटका अन्य १२ कृषकले पनि बिरुवा लिएर लगाए।

बिरुवा सप्रिँदै गएपछि धेरैको ध्यान स्याउ लगाउनेतर्फ जान थालेको छ। वर्षौँदेखि गाईभैँसी र खेतीकिसानी गर्दै आएका ओलीले अहिले गाउँका अन्य स्थानीयलाई पनि स्याउ लगाउनुपर्छ भन्ने योजनामा पुर्याएका छन्। हाल उनको बगानमा २७ नयाँ बिरुवा र २० पोहोर साल लगाएका गरी ४७ स्याउका बोट छन्।

२ हजारदेखि ३ हजार मिटरसम्मको उचाइमा गाला फुजी जातको स्याउ राम्रो उत्पादन हुन्छ भन्ने पत्रिकामा पढेको भरमा ओलीले परीक्षणका लागि स्याउ लगाएका हुन्। अर्नाकोट करिब २ हजार २ सय मिटरको उचाइमा पर्छ।

ओलीले कृषि निर्देशनालय गण्डकी प्रदेशबाट ७५ प्रतिशत अनुदानमा बिरुवा लिएर खेती सुरुआत गरेका हुन्। बागलुङमा अहिलेसम्म ढोरपाटन र निसेलढोरमा मात्रै व्यावसायिक रूपमा स्याउ उत्पादन हुने गरेको छ।

corrent noodles
Metro Mart

निसीखोला, ताराखोलालगायतका केही ठाउँमा स्याउ लगाए पनि राम्रो उत्पादन हुनसकेको छैन। अर्नाकोटमा परीक्षणका लागि लगाएका बिरुवाले फल दिन थालेपछि धेरै स्थानीय आकर्षित हुन थालेको दुर्गाबहादुर बताउँछन्।

बिरुवा रोपेको पहिलो वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्ष निसीखोलामा लटरम्म फल्यो इटालियन गाला फुजी जातको स्याउ।

उनले अर्नाकोटमा सिँचाइको निकै ठूलो समस्या रहेको भन्दै यसको व्यवस्थापन हुनसके राम्रो स्याउ उत्पादन गर्न सक्ने बताए।  ‘यहाँ यति राम्रो स्याउ होला भन्ने मैले सोचेको थिइनँ, यो ठाउँमा के–कस्तो हुन्छ, एकपटक विचार गरौँ न भन्ने हिसाबले बिरुवा लिएर लगाएको, पोहोर जेठमा लगाएको अहिले नै फल दियो, यसले हामीलाई धेरै हर्षित बनाएको छ,’ ओलीले भने, ‘सिँचाइको समस्याले गर्दा बिरुवा बचाउन निकै हम्मे भयो, खानेपानीको हाहाकार भएको ठाउँमा स्याउ लगायौँ, त्यही पनि बिरुवा बचाउन सफल भयौँ। सरकारले यहाँ सिँचाइको राम्रो व्यवस्था मिलाइदिने हो भने व्यावसायिक रूपमा धेरै स्याउ उत्पादन गर्न सकिने थियो।’

स्थानीय चेतबहादुर कुँवरले पनि अघिल्लो वर्ष २७ वटा बिरुवा लगाएका थियो। अहिले सबैले फल दिएको उनले बताए। कुँवरले लगाएकै वर्ष फूल फुल्ने र अर्को वर्षदेखि फल दिने भनिए पनि सुरुकै वर्षमा फल दिन थालेको कुँवर बताउँछन्। स्याउका पोथीभन्दा भाले जातका बिरुवा जोगाउन समस्या भएको भन्दै अहिले समाधान हुँदै गएको उनी बताउँछन्।

गाउँमा अहिलेसम्म कसैले पनि स्याउ लगाउने सोच नबनाएको सुनाउँदै अहिले धेरैले बिरुवा खोज्न थालेको कुँवरले बताए।  कुँवर भन्छन्, ‘यहाँ यसरी स्याउ फल्ला भन्ने पत्याएका थिएनौँ, तर अहिले चकित पार्ने गरी मसिनै बोटमा फल्यो, यसले हामीलाई हर्षित बनाएको छ, वर्षौंदेखि खानेपानी अभावमा गुज्रिएका हामीलाई स्याउ उत्पादन हुने लक्षण देखिएपछि नयाँ आशा पलाएको छ। यहाँको मुख्य समस्या पानी हो। उत्पादनका हिसाबले यहाँ स्याउलगायत धेरै फलफूल तथा तरकारी फलाउन सकिन्छ।’

निसीखोला गाउँपालिकाका कृषि शाखा प्रमुख तारा परियारले स्याउ फल्न थालेपछि कृषकलाई आवश्यक प्राविधिक तथा अन्य सहयोग गाउँपालिकाले गरिरहेको बताए। अहिले यहाँका कृषकले तीन रोपनीमा १५० बिरुवा लगाएकामा अधिकांशले फल दिन सुरु गरेको बताए।

परीक्षण सफल हुँदै गएको भन्दै अब अन्य कृषकले पनि स्याउखेती गर्न चाहे गाउँपालिकाले सहयोग गर्ने उनको भनाइ छ।

‘फुजी जातको स्याउ यहाँको हावापानी, वातावरण र ‘हाइट’का लागि एकदम राम्रो हुन्छ। कृषकले पनि हावापानी सुहाउँदो स्याउको जात छनोट गरे, अहिले नै राम्रो फल देखिएको छ। यसको परीक्षण सफल हुन्छ भन्नेमा हामी ढुक्क छौँ,’ परियारले भने, त्यहीअनुसार स्याउ राम्रो हुँदै गयो भने भविष्यमा यो ठाउँ स्याउ उत्पादनका लागि प्रख्यात हुने देखिन्छ।’

निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरमा वर्षौं अगाडिदेखि नै व्यावसायिक स्याउ उत्पादन हुँदै आएको थियो। अहिले गाउँपालिकाले निसेलढोरसँगै वडा–६ का उच्च क्षेत्रमा पनि स्याउ लगाउन थालिएको छ। चालू आर्थिक वर्षमा भौगोलिक बनावट, हावापानी र स्थानीयको मागअनुसार वडा–५ र ६ मा ४५० स्याउका बिरुवा लगाइएको छ। गाउँपालिकाले चालू आवमा विनियोजन गरेको ७ लाखबाट स्याउ खेती विस्तार गर्न थालिएको हो।

यस वर्ष निसेलढोरबाहेक जाउलेपानी, मापुक, चोरबास र कोस्काँ क्षेत्रमा स्याउ लगाउन थालेको गाउँपालिकाले जनाएको छ।
- रासस

प्रकाशित: Jun 30, 2023| 14:07 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्