शुक्रबार, असार ५, २०८३

आन्तरिक पर्यटकको रोजाइमा 'श्रवणकुमार पार्क'

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

वालिङ- स्याङ्जाको वालिङ–८ घ्याङ्लिङमा अवस्थित श्रवणकुमार पार्क पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ। वालिङ बजारदेखि नजिकै रहेको उक्त पार्कमा पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको हो। 

National life

घ्याङ्लिङस्थित अमिलीथुम आधारभूत विद्यालयको जीर्ण भवन अन्यन्त्र स्थानान्तरण गरेपछि विद्यालय भएको स्थानमा पार्क निर्माण गरिएको हो। स्थानीय नवप्रभात युवा क्लब  र श्रवणकुमार पार्क व्यवस्थापन समितिको सहकार्यमा विद्यालय परिसरलाई पार्कको स्वरुप दिइएको क्लबका अध्यक्ष जीवलाल काफ्लेले बताए। 

उनका अनुसार पार्कमा पूर्वाधार निर्माण, सरसफाइ, वृक्षरोपणलगायत कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र विद्यालय प्रशासन सहयोग गर्दै आएका छन्। ‘विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मतसम्भार तथा रङगरोगन गरेका छौँ’ अध्यक्ष काफ्लेले भने, ‘पार्कलाई घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैँचा, वृक्षरोपण, चौपारी निर्माण, शौचालय तथा बाल उद्यानका लागि पूर्वाधार निर्माण र व्यवस्थापन गरेका छौँ।’ उनले बढ्दो बजारीकरणका कारण हुने बजारको कोलाहलबाट केही समय छुट्ट्याएर पार्कमा आनन्दित हुन सकिने बताए। 

अध्यक्ष काफ्लेका अनुसार पार्कमा बजार क्षेत्रबाट बिहान र साँझको समयमा पैदल हिँडेर आउने आन्तरिक पर्यटकको सङ्ख्या बढी छ। ‘दिउँसो र बिदाका दिनमा भने घुम्नका लागि मानिस आउनुहुन्छ। बिहान/साँझ भने हिँडेर व्यायाम गर्नेहरु बढी आउनुहुन्छ’, उनले भने। साथीभाइ तथा पारिवारिक समूह गर्मी छल्न पनि यहाँ आउने गरेका उनले बताए। ‘स्मार्ट सिटी’को अवधारणा अनुसार अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरका विभिन्न वडामा पार्क निर्माणमा जोड दिँदै आएको छ। नगरपालिकाले केही वर्षदेखि पार्कमा पूर्वाधार निर्माण, तारबारका लागि बजेट विनियोजन गर्दै आइरहेको छ।

प्रकाशित: Jun 29, 2023| 23:02 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्