शुक्रबार, असार ५, २०८३

बिहानभरि बंगुर स्याहारेर कार्यालय जान्छन् वडाध्यक्ष

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

गल्याङ- स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ। सिंजाली बिहानै बङ्गुरका लागि कुँडो पकाउँछन्। कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्छन्। अनि पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेको कुँडो खुवाउँछन्।

National life

सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सक्छन्। वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्नु उनको बाध्यता हो। समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गा रानालाई दिएर उनी कार्यालयतिर जान्छन्। कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्छन्।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आएका छन्। वार्षिक १४ लाख ४० हजार रुपैयाँ बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उनको भनाइ छ।

‘एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्’, सिंजालीले भने, ‘बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु।’ उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उनले बताए।

‘व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ’, सिंजालीले भने, ‘यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ।’ गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उनको भनाइ छ।

Shivam cement

सिंजालीकी पत्नी गङ्गा रानाले श्रीमानको जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताइन्।

गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताए। नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उनको भनाइ छ।

प्रकाशित: Jun 29, 2023| 21:41 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्