काठमाडौं- देशका ७६ वटा जिल्लामा गाईवस्तुमा लाग्ने रोग लम्पी स्किन फैलिएको छ। पशु सेवा विभागका अनुसार मनाङबाहेक सबै जिल्लामा फैलिएको यो रोगबाट २५ हजार ४०८ गाईभैंसी मरेका छन्।
हालसम्म यसबाट ६ लाख ८२ हजार ८० पशु संक्रमित भएकोमा ४ लाख ९ हजार १७५ निको भएका छन् भने २ लाख ४७ हजार ४९७ अहिले पनि संक्रमित छन्।
‘प्रभावित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ,’ विभागले भनेको छ, ‘खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म ७ लाख ३७ हजार डोज खोप सातवटै प्रदेशका १ लाख ७२ हजार १२८ पशुमा लगाइएको छ।’ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ।
नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ। यो रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन्। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्छन्।