बुधबार, वैशाख ३०, २०८३

रौतहटमा खुल्यो दुई अर्बको प्राइम सेरामिक्स टायल

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- प्राइम सेरामिक्स प्रालिले बिहीबारदेखि नयाँ टायल बिक्रीमा ल्याएको छ। कम्पनीले भुइँ र भित्ताका लागि सबै प्रकारको टायल उत्पादन गर्छ।

National life

रौतहटको बृन्दावन नगरपालिका-६ मा १० विघा क्षेत्रफलमा कम्पनीको कारखाना छ। इटालियन प्रविधिबाट पूर्णरुपमा स्वचालित उद्योगबाट टायल उत्पादन हुने दाबी कम्पनीको छ। कम्पनीले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो।

विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सासिमी (एसएसीएमआइ) को मेसिन प्रयोग गरेर टायल उत्पादन गरिएको कम्पनीले जनाएको छ। हाल वार्षिक १५ अर्ब रुपैयाँ बराबरको टायल नेपालमा आयात हुने गरेको छ। ढुवानी खर्च, भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल महँगो हुने गरेको छ।

नयाँ उद्योगबाट उत्पादित टायलले कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्ने पत्रकार सम्मेलनमा बताइएको छ। उद्योगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५-२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने दाबी गरिएको छ। कम्पनीका अध्यक्ष आशिष गर्गले ५० प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टायल उत्पादन गरिने बताए।

स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरुले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो हुने कम्पनीले जनाएको छ। कम्पनीले एकै छानामुनी घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल लगायतमा प्रयोगको लागि हाल अधिकतम २X४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईँमा लाग्ने टायल उत्पादन गर्नेछ।

विगत दुई दशकदेखि नेपालमा टायल ब्यापारको अनुभव बोकेको सीएमएस ग्रुप र फर्चुन भेन्चर्सले प्रवर्द्धन गरेको प्राइम सेरामिक्समा दुई अर्ब रुपैयाँ लगानी छ। दैनिक डेढ लाख वर्गफिट उत्पादन क्षमता रहेको उद्योगले ३०० जनालाई रोजगारी दिएको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 29, 2023| 20:37 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्