शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै, असारे विकासमा धमाधम काटिँदै चेक

गण्डकीको बजेट खर्च ४७ प्रतिशत मात्रै, असारे विकासमा धमाधम काटिँदै चेक

प्रदेशले चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरेकामा आव सकिनै लाग्दा १७ अर्ब ८ करोड ९२ लाख मात्रै  खर्च भएको हो। 
 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

पोखरा– गण्डकी प्रदेशले आर्थिक वर्ष २०७९/८० मा आधा बजेट पनि खर्च गर्न सकेन। असार दोस्रो सातासम्म कुल बजेटको ४७.५९ प्रतिशत मात्र बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ। 

चालू आवका लागि ३५ अर्ब ९० करोड ९० लाख बजेट विनियोजन गरिएको थियो। कार्यालयका अनुसार आर्थिक वर्ष सकिन लाग्दा १७ अर्ब ८ करोड ९२ लाखमात्र बजेट खर्च भएको हो। 

असार लागेपछि विकास निर्माणको काम गरी बजेट सक्ने परिपाटी पुरानै समस्या हो। गण्डकीमा चालू आव असारमा उल्लेख्य रूपमा खर्च बढेको छ। कार्यालयबाट एक दिनमै १० करोडसम्म निकासा भएको कार्यालयका लेखा अधिकृत लक्ष्मीकान्त शर्मा पौडेलले जानकारी दिइन्। 

उनका अनुसार असारमा चालुगत खर्चभन्दा पुँजीगत खर्च बढ्ने गरेको छ। चालू वर्षका लागि विनियोजित बजेटमध्ये १२ असारसम्म चालूतर्फ ६ अर्ब ८६ करोड २० लाख र पुँजीगततर्फ १० अर्ब २२ करोड ७१ लाख खर्च भएको तथ्यांक छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयले प्रदेशका ११ जिल्लामा अबको १८ दिनमा ९ अर्ब ८४ करोड २५ लाख अर्थात् ७० देखि ७५ प्रतिशत बजेट खर्चिने अनुमान गरेको छ। 

Metro Mart

सामान्यतः आर्थिक वर्षको बजेट २५ असारसम्म निकासा हुने चलन छ। केही समस्या भए निवेदनका आधारमा वा केन्द्रको मन्त्रिपरिषद्को निर्णयका आधारमा असार मसान्तसम्म रकम निकासा लिने पुरानै चलन हो। ‘हामीले अन्तिमसम्म ७० देखि ७५ प्रतिशतसम्म बजेट खर्च गर्न सकिन्छ कि भन्ने छ’, लेखा अधिकृत पौडेलले भनिन्।  

समग्रमा अरु प्रदेशको तुलनामा गण्डकी प्रदेशको खर्च सन्तोषजनक रहेको उनको भनाइ छ। ‘बजेटको सिद्धान्तअनुुसार हाम्रो घाटा बजेट हो’, उनले भनिन्, ‘हामीले यहाँ शतप्रतिशत खर्च गर्ने हो भने घाटामा गइन्छ। त्यसैले यो प्रतिशतको खर्च त्यति नराम्रो होइन।’ 

सबैले पहिलो र दोस्रो चौमासिकमा खर्च नै नगर्ने र तेस्रो चौमासिकको पनि असारमै बजेट लिनुपर्छ भन्ने पुरानै प्रवृत्ति रहेको उनले सुनाइन्। बजेटमा देखिएको असारे विकास रोक्न कार्यालय, उपभोक्ता र निर्माण व्यावसायी मिलेर जानुपर्ने लेखा अधिकृत पौडेलको भनाइ थियो।

‘हाम्रोमा असारे विकास भन्ने शब्द धेरै चर्चामा छ, यसलाई न्यूनीकरण गर्न सबैले साथ दिन जरुरी छ’, उनले भनिन्, ‘यसका लागि कार्यालय, उपभोक्ता र निर्माण व्यवसायीबीच समन्वय गरी समयअनुुुसार काम गर्ने÷गराउने गरे यो समस्यामा कमी आउँथ्यो होला।’

प्रकाशित: Jun 29, 2023| 15:09 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्