बुधबार, वैशाख ३०, २०८३

चितवनका ६ हजार गाईभैंसीमा लम्पीस्किन

चितवनमा पालिएका ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैंसीमध्ये ६ हजार बढीमा फैलियो लम्पीस्किन। 
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

चितवन– चितवनका सात पालिकामा गाईभैंसीमा लाग्ने लम्पीस्किन रोगको संक्रमण फैलिएको छ। सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो।  ती पालिकामा ६ हजार ७९९ गाईभैँसीमा रोग संक्रमण देखिएको छ। जिल्लामा ९३ हजार १८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्यांक छ। 

National life

तीमध्ये ६ हजार ५३९ गाई र २६० भैँसीमा यो रोगको संक्रमण देखिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण १७६ गाई मरेका छन्। 

सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम माडी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए। उनका अनुसार इच्छाकामना पालिकामा ६२, भरतपुर महानगरमा ३४, राप्ती नगरपालिकामा ४०, रत्ननगरमा १४, कालिकामा १०, खैरहनीमा १० र माडी नगरपालिकामा ६ गाई मरेका छन्।

लम्पीस्किनका कारण मरेका गाईमध्ये भरतपुर महानगरमा पाँच गाईको बिमा गरिएको छ। जिल्लाका तीन पालिकामा पालिएका १५ हजार ९० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ। 

भरतपुरमा ३ हजार ७९०, रत्ननगरमा ७ हजार र राप्तीमा ४ हजार तीन सय गाईभैँसीलाई खोप लगाइएको छ। स्थानीय पालिका र सहकारीमार्फत खोप खरिद गरी लगाइएको हो।

विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका ५ हजार गाईभँैसीलाई औषधी वितरण गरिएको छ। केन्द्रमा बजेट अभावका कारण स्थानीय पालिका, सहकारी र कृषक आफैँले खरिद गरी खोप लगाउने गरेका छन्।

गर्मीयाममा लामखुट्टे, झिंगालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए। गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ। 

यो रोग विशेषगरी संक्रमित लामखुट्टे, झिंगालगायतको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट यो रोग सर्ने गरेको कार्यालयले जनाएको छ। 

रोग लाग्न नदिन खोप लगाउने, विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने, गोठलाई झिंगा, लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने आचार्यले बताए।

प्रकाशित: Jun 29, 2023| 11:50 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्