शुक्रबार, साउन २३, २०८२

बजेट पारित, पक्षमा १४७ मत

 |  बुधबार, असार १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १३, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधिसभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। मत विभाजन प्रक्रियाबाट बजेट पास भएको हो।

बजेटको पक्षमा १४७ मत परेको छ भने विपक्षमा १०८ मत। मतदानमा २५५ जना सांसद सहभागी भएकोमा तटस्थ भने कोही बसेनन्।

सभामुखले ध्वनि मतका आधारमा बजेट पारित भएको घोषणा गरेपछि नेकपा एमालेले मत विभाजनको माग गरेको थियो। त्यसपछि सभामुखले प्रक्रिया सुरु गरेका हुन्।  

गत १५ जेठमा अर्थमन्त्री महतले संसद्‍मा आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गरेका थिए। बजेट राष्ट्रियसभाबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेपछि कार्यान्वयनमा आउनेछ। सरकारले आगामी आवका लागि १७ खर्ब ५१ अर्बको बजेट सार्वजनिक गरेको छ।

चालू खर्चतर्फ ११ खर्ब ४१ अर्ब अर्थात् ६५.२० प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब  अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ। चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट करिब ४३ अर्ब अर्थात् २.३७ प्रतिशतले घटेको छ। कुल बजेटमध्ये प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ  विनियोजन गरिएको छ।

Metro Mart

बजेटमा राजस्वबाट १२ खर्ब ४८ अर्ब, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड संकलन गर्ने लक्ष्य छ। राजस्व र अनुदानबाट अपुग हुने ४ खर्ब ५२ अर्ब ७५  करोड रुपैयाँ  आन्तरिक तथा बाह्य ऋणबाट संकलन गर्ने लक्ष्य राखिएको छ। बजेटमार्फत सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर र ६.५ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ।

गत २३ जेठदेखि संसद्‍मा बजेटमाथिको छलफल चलेको थियो। बजेटको विनियोजन तथा कर प्रस्तावमाथि सांसदले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री महतले दिएका थिए। त्यसपछि विषयगत मन्त्रालयको विनियोजनमाथि छलफल चलेको थियो।

 

प्रकाशित: Jun 28, 2023| 16:41 बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्