काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि संघीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट आज पारित गर्ने कार्यसूची बनेको छ। तर सत्तारुढ दस दलीय गठबन्धनमध्ये कांग्रेस, नेकपा माओवादी केन्द्रबाहेकका अरु दलले बजेट पारितमा सघाउने÷नसघाउने भन्ने निर्णय अहिलेसम्म गर्न सकेका छैनन्।
चितवन, डडेल्धुरा र नुवाकोटमा पैसा खन्याइएको, आफूहरुलाई भाग नदिएको दाबी गरेर सत्ता गठबन्धनभित्रका नेकपा एस, जनमत, जसपालगायतका पार्टी रिसाएका छन्। उनीहरुले बजेट संशोधन नगरिए पारित हुन नदिने चेतावनी दिएका छन्। यद्यपि नेताहरुले दस दलीय गठबन्धनबाट बजेट पारितमा व्यवधान नहुने दाबी गरिरहेका छन्।
सत्तारुढ कांग्रेस, नेकपा माओवादी केन्द्रले बजेट आजै पारित गर्ने तयारीसहित आफ्ना सांसद्लाई ह्वीप जारी गरिसकेका छन्। सत्तारुढ अन्य दलले भने हालसम्म सांसदलाई ह्वीप लगाएका छैनन् भने बैठक बसेर निर्णय हुँदै गरेको प्रतिक्रिया दिएका छन्। १५ माघमा अर्थमन्त्री महतले प्रस्तुत गरेको आयव्यय विवरण पारित गर्न ११ बजे प्रतिनिधिसभा बैठक सुरु भएको छ। अर्थमन्त्री महतले बजेट पारितका लागि प्रतिनिधिसभा बैठकमा पेस गरेका छन्।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदका प्रश्नोत्तरको जवाफ दिँदै छन्।
त्यसपछि सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ।
बैठकमा अर्थमन्त्री डा.महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरको छन्। आर्थिक विधेयक, २०८० माथि विचार गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची राखिएको छ।
अहिलेसम्म बजेट पारितका लागि मत नदिने पक्षमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए। मधेस प्रदेशका लागि विनियोजित बजेट कम भएकाले विपक्षमा पनि मतदान गर्न सकिने संकेत उनले दिए। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा भएको उनको भनाइ छ।
‘प्रधानमन्त्रीले बजेट संशोधन गराइने प्रतिबद्धता जनाउनुभयो तर ठोस आएन। अहिलेसम्म बजेट पासको पक्षमा मत नदिने भन्नेमै छौं। दलको बैठक बसेर निर्णय गर्छौं। बिहान ११ बजेका लागि दलको बैठक बोलाएका छौं’, राउतले भने। ६ सांसद रहेको जनमतले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिरहेको छ।
सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट पारित गर्न सघाउने वा नसघाउने भन्नेबारे निर्णय लिन जनता समाजवादी पार्टी (जसपा) को पनि बैठक बसिरहेको छ।
जसपा बजेट संशोधन नगरी पारित नगर्ने अडानमा रहे पनि प्रधानमन्त्री प्रचण्डले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएपछि सकारात्मक देखिएको छ। ‘अहिले दलको बैठक बसिरहेको छ। ब्जेट पारित गराउन सघाउने वा नसघाउने भन्नेबारे अन्तिम निर्णय लिनेछौं’, जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने।
सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति असन्तुष्ट नेकपा एकीकृत समाजवादीले बजेट पारितका पक्षमा मत दिने वा विपक्षमा भन्ने विषयमा अहिले केही बेरमा निर्णय सार्वजनिक गरिने बताएको छ। त्यसका लागि निर्णय गर्न बिहान साढे १० बजेदेखि संसदीय दलको बैठक बसिरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।
सत्तारुढ लोसपाको पनि बजेट पारित गर्ने निर्णयका लागि अहिले बैठक बसिरहेको बताइएको छ।