अपाचे ओनर्स ग्रुप (एओजी)ले मार्सल मिट तथा आफ्नो एनिभर्सरी राइड कार्यक्रम सम्पन्न गरेको छ। टिभिएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरूको मनमा स्थापित गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरेको थियो।
एओजीले काठमाडौंमा आयोजना गरेको मार्सल मिटमा देशभरबाट १५ जना मार्सलहरूको सहभागिता रहेको जनाइएको छ। उक्त कार्यक्रममा देशभरबाट आएका सबै मार्सललाई हेड मार्सल गौरवकुमार पाठकले सवारीसम्बन्धी जानकारी र सुरक्षित यात्राका लागि आवश्यक तालिम प्रदान गरेको कम्पनीले जनाएको छ। तालिमले अपाचे ओनर्स ग्रुपलाई अझ बलियो बनाएको तथा तालिमप्राप्त मार्सलद्वारा नेतृत्व गरिने भविष्यका राइडहरू थप सुरक्षित र रमाइलो बन्ने निश्चित भएको जनाइएको छ।
साथै, कम्पनीले आन्तरिक पर्यटन प्रवद्र्धनको लक्ष्यका साथ आफ्नो एनिभर्सरी राइड पनि सम्पन्न भएको जनाएको छ। ७० भन्दा बढी राइडरहरूको सहभागिता रहेको कार्यक्रम काठमाडौंको भृकुटीमण्डपबाट सुरु भई भोटेचौरमा रहेको चियाबगान पुगी काठमाडौंमै फर्किएर समापन गरिएको जनाइएको छ।
उक्त कार्यक्रममार्फत केही समयअघि एओजीद्वारा आयोजित मार्कयु राइडमा सहभागी भेटरान राइडर्स तथा मोटो भ्लगर्स विजय मोक्तान, प्रमोद श्रेष्ठ (गुफी), अवशिष ओझा र सागर थापालाई सम्मानपत्रका साथै मायाको चिनो प्रदान गरिएको कम्पनीले जनाएको छ।
स्थापनाको पहिलो वर्षमै अपाचे ओनर्स ग्रुपले देशभरमा तीन हजारभन्दा बढी सदस्यहरू बटुल्न सफल भएको र हालसम्म च्याप्टर र मार्सल राइड गरी ४२ वटा राइडहरू सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ। जसमध्ये चित्लाङसम्मको नाइट राइड र सात हजार किलोमिटर लामो अन्तर्राष्ट्रिय राइडसमेत रहेको जनाइएको छ।