सोमबार, जेठ १९, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सात वर्षमा ५० हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान, विभागमै थन्किए साढे दुई लाख नम्बर प्लेट

सात वर्षमा ५० हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान, विभागमै थन्किए साढे दुई लाख नम्बर प्लेट

सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै संख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो।
 |  मंगलबार, असार १२, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार १२, २०८०

vianetvianet


काठमाडौं– सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’का लागि सम्झौता गरेको सात वर्षमा झन्डै ५० हजार सेवाग्राहीले आफ्ना सवारीसाधनमा नम्बर प्लेट जडान गरेका छन्। सरकारले बाध्यकारी नगरेकाले अहिलेसम्म थोरै संख्यामा मात्रै नम्बर प्लेट जडान भएको हो।

यातायात व्यवस्था विभागले अहिलेसम्म झन्डै तीन लाख नम्बर प्लेट उत्पादन भएर आएकोे जनाएको छ। आपूर्तिकर्ताका कारणले नभएर विभागले नै बाध्यकारी नगरेकाले जडानमा ढिलाइ भइरहेको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए। उनले भने, ‘आपूर्तिकर्तालाई अहिलेसम्म काम दिन सकिएको छैन।’

आपूर्तिकर्ताले विभागले माग गरेअनुसारको उत्पादन गर्न सकिने भनेको उनले बताए। लामो समयसम्म कुन भाषामा बनाउने भन्ने अन्योलका कारण पनि यसको प्रगति ढिलाइ भएको जनाइएको छ। सरकारले नेपालीमा समेत ‘इम्बोस्ड नम्बर प्लेट’ छाप्ने भनेकाले अहिले विभागले यसका लागि आवश्यक तयारी गरिरहेको छ।

एकै पटकमा धेरै सेवाग्राहीलाई सेवा दिन सरकारको आफ्नै क्षमता कस्तो छ भन्ने महत्त्वपूर्ण रहेको प्रवक्ता पनेरुले बताए। उनका अनुसार कार्यालयमा जडान गर्ने क्षमता, जनशक्ति, गाडी राख्ने ठाउँलगायतका भौतिक पूर्वाधारका कुरा हुन आवश्यक छ। यातायात व्यवस्था कार्यालय प्रदेश मातहत रहेकाले विभागले मात्रै चाहेर नहुने उनको भनाइ थियो।

यी कार्यालयसँग समन्वय गरेर कति संख्यामा कसरी सकिन्छ भनी योजना बनाइने उनले बताए। उनले भने, ‘हामीले समन्वयको काम गर्ने हो। खास काम गर्नुपर्ने यातायात कार्यालयले भएकाले उनीहरूको साधन स्रोतले पनि भ्याउने हुनुपर्छ।’

National life insurance

कहिले अदालतमा मुद्दा भएकाले त कहिले भाषासम्बन्धी विवादका कारणले इम्बोस्ड नम्बर प्लेट जडान सुस्त भएको जनाइएको छ। आपूर्तिकर्ता कम्पनीका कारण नभएर अरु कारणले ढिलाइ भएकाले विभागले अवधि थपिरहेको छ।

पछिल्लो पटक थप भएको अवधिअनुसार आगामी मंसिरसम्म छ। सबैको समन्वय भएर काम हुँदा यसले गति लिन सक्ने उनले बताए। आपूर्तिकर्ताले धमाधम छाप्ने र यातायात कार्यालयले त्यहीअनुसार जडान गरेर अबको केही समयमै सम्पन्न हुन सक्ने सम्भावना रहेको उनले बताए।

त्यतिबेलासम्म पनि केही समस्या आयो र सकिएन भने सरकारले समाधान गर्ने उनको भनाइ छ। विभागले १७ जेठ २०७३ मा टाइगर आइटी (द कर्पाेरेसन)सँग नम्बर प्लेट आपूर्ति र जडानका लागि सम्झौता गरेको थियो।

प्रकाशित: Jun 27, 2023| 11:07 मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्