काठमाडौं- चिनियाँ विद्युतीय गाडी नेटा भीको आधिकारिक बिक्रेता सीजी मोटर्सले पोखरामा विद्युतीय ट्याक्सी संचालनमा ल्याएको छ। आइतबार कम्पनीले पोखरामा आफ्नो नयाँ शोरुम पनि संचालनमा ल्याएको जनाएको छ। पोखराको अर्चलबोट चोकमा सीजी मोटर्सको नेटा भी शोरुम संचालनमा आएको हो।
उक्त अवसरमा कम्पनीले पोखराका लागि पहिलो इभी ट्याक्सी र विद्युतीय माईक्रोबसका ग्राहकहरुलाई हस्तान्तरण गरेको हो। शोरुमको उद्घाटन चीनका राजदुत चेन सङ गरे। उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे।
सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीले समेत नेटा भी को अनुभव गरी खरिद गर्न सक्नेछन्। उनले नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन रहेको पनि बताए।
आगामी दिनमा काठमाडौं पोखरा रुटको लागि ११ देखि १९ सिटसम्मका माईक्रो बसहरु उपलब्ध गराउने उनको भनाइ छ। प्योर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किलोमिटरको दुरी पार गर्न सक्ने कम्पनीले बताएको छ। १७० एमएम ग्राउण्ड क्लिरियन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कम्पनीको दावी छ।
यो किसिमको ग्राउण्ड क्लिरियन्स तथा यसको डिजाइनले नेटा भीलाई एयरोडाइनामिक्स प्रदान गर्ने र यसले यसको गति र सन्तुलन कायम राख्ने कम्पनीले जनाएको छ। यसका साथै नेटा भी गाडीभित्र प्रदुषणरहित बनाउन एन९५ हेपा फिल्टरको प्रयोग भएको छ। यसले बाहिरको प्रदुषणका साथै गाडीभित्रको हावाको पनि प्रदुषण फिल्टर गर्ने कम्पनीको भनाइ छ।
नेटा भीमा विश्वको ठुलो ब्याट्री निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ। सीजी मोटर्सले नेटा भीका साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ। उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ। साथै गण्डकी प्रदेशमा इभी ट्याक्सी र विद्युतीय माईक्रोबसका लागि सीजी मोटर्सले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको जारी विज्ञप्तीमा जनाइएको छ।