काठमाडौं- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन्।
माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले केही बेरअघि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीमा दावी पेस गर्नका लागि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिइएको थियो। उक्त समयमा केसीको मात्र दाबी परेको थियो। केसीलाई ४ दलीय गठबन्धनको समर्थन छ।
रोल्पा निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित ५१ वर्षीय केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्रीसहित केही मन्त्रीहरुको सपथ केही बेरपछि हुने बताइएको छ।
माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा र स्वतन्त्र राजनीतिक समूहका एकजना गरी ४२ जना सांसदले मुख्यमन्त्री नियुक्त गर्न बिहीबार बिहान प्रदेश प्रमुख समक्ष हस्ताक्षर बुझाएका थिए।
यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री रहेका केसी अबको ८ महिनासम्म मुख्यमन्त्री बन्ने छन्। बाँकी ८ महिना भने नेपाली कांग्रेसका वीरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने सहमति गठबन्धनका दलहरूबीच भएको छ।