काठमाडौं– चालू आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको छ।
तथ्यांकअनुसार जेठ मसान्तसम्म १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.०१ प्रतिशतले कम हो। अघिल्लो वर्षको जेठ मसान्तसम्म १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियोे।
सरकारले ठूलो परिणाममा आयात बढेसँगै वैदेशिक व्यापार घाटा वार्षिक बजेट आकारभन्दा ठूलो बनेपछि आयात नियन्त्रणको नीति लिए पनि ११ महिने आयात तथ्यांकमा सुधारिएको देखिँदैन। समीक्षा अवधिमा नेपाललाई वैदेशिक व्यापारतर्फ १३ खर्ब ३७ अर्ब ३९ करोड ४६ लाख रुपैयाँ घाटा भएको छ।
विभागका अनुसार सोही अवधिमा नेपालको निर्यात २२.७४ प्रतिशतले घटेको छ। नेपालबाट यसै अवधिमा कुल १ खर्ब ४३ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष नेपालबाट १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख बराबरको वस्तु निर्यात भएको थियो।