काठमाडौं- वर्ल्डलिंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको छ। निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सले इन्टरनेटको स्पिड स्लो भए पैसा फिर्ता दिने आकर्षक सुविधा ल्याएको हो।
नेपाली इन्टरनेट सेवा प्रदायकहरुबीच पहिलो पटक वर्ल्डलिंकले शर्तअनुसारको सेवा ग्राहकले नपाए रकम फिर्ता गर्ने योजना ल्याएको छ। आफ्ना ग्राहकलाई अब वर्ल्डलिंकको इन्टरनेट स्पिड स्लो हुँदैन भन्ने विश्वास दिलाउन रकम नै फिर्ता दिने योजना ल्याएको हो। कम्पनीले सधैं गुणस्तरीय सेवालाई प्राथमिकता दिएको वर्ल्डलिंकले बताएको छ।
स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले पाउछन् मनी ब्याक ग्यारेन्टी
वर्ल्डलिंकका ७ लाख ८० हजार ग्राहक छन्, जसअन्तर्गत ‘स्ट्यान्डर्ड अफर प्याकेज’ २०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएसको इन्टरनेट प्रयोग गर्ने प्रयोगकर्ताहरुले कुनै थप शुल्क बिना नै यो सेवा पाउनेछन्। हाललाई यीबाहेक अरु कुनै प्याकेजमा रहेका ग्राहकलाई यो मनी ब्याक ग्यारेन्टीको सुविधा उपलब्ध हुनेछैन। यदि उनीहरुले आफ्नो प्याकेजलाई अपग्रेड गरेमात्र मनी ब्याक ग्यारेन्टी सुविधा प्रयोग गर्न पाउनेछन्। यो सुविधा दिनका लागि कम्पनीले थप आवश्यक प्राविधिक कर्मचारीहरु परिचालन गर्नेछ।
कसरी दाबी गर्ने? कति रकम फिर्ता हुन्छ?
ग्राहकको इन्टरनेट स्पिड स्लो हुनेबित्तिकै रकम फिर्ता पाइहाल्ने भने होइन। स्ट्यान्डर्ड प्याकेज प्रयोगकर्ताले आफ्नो स्पिड स्लो भएको फोनमार्फत, शाखा कार्यालय वा अनलाइन सेवाबाट जानकारी गराउनु पर्नेछ।
वर्ल्डलिंकले आफ्ना प्राविधिक कर्मचारीलाई ग्राहकको ठेगानामा इन्टरनेट स्पीड चेक गर्न पठाउनेछ। इन्टरनेट स्लो भएको कारण पत्ता लगाई समस्याको समाधान गर्नेछ। तथापि स्पीडको समस्या यथावत् रहेमा ग्राहकले मनी ब्याक ग्यारेन्टी सुविधा अन्तर्गत पैसा फिर्ता माग गर्न सक्नेछन्।
रकम फिर्ता माग गर्दा ग्राहकले प्याकेज लिएको जति दिन बाँकी रहन्छ सो बराबरको रकममात्र फिर्ता पाउने व्यवस्था छ। उदाहरणको लागि ९० दिनको प्याकेज लिएका ग्राहकले २५ दिन उपभोग गरिसकेको छ भने ६५ दिनको रकम मात्र फिर्ता पाउनेछन्।
कसले दाबी गर्ने ?
इन्टरनेट स्पिड स्लो भएका ग्राहकले (२०० एमबीपीएस, २५० एमबीपीएस र ३०० एमबीपीएस) यस सुविधा अन्तर्गत आफ्नो गुनासो दाबी गर्न सक्छन्। यदि इन्टरनेट स्पिड स्लो हुँदा वर्ल्डलिंकले समस्या समाधान गर्न नसकेको खण्डमा मात्र मनी ब्याक ग्यारेन्टी अफर लागू हुनेछ।
५१ वटा शाखामा सर्भिस ग्यारेन्टीको अफर
वर्ल्डलिंकले देशभरका मुख्य शहरहरुमा मनी ब्याक ग्यारेन्टीको सुविधा लागु हुने जनाएको छ। जसमध्ये ५१ वटा शाखाका ग्राहकहरुले सुविधाको फाइदा लिन सक्नेछन्। जसमा देशभरका सबै मुख्य शहरहरु पर्दछन्। वर्ल्डलिंकले आउने दिनहरुमा यो सुविधा अरु शाखाहरुमा पनि उपलब्ध गराउँदै जानेछ।
वर्ल्डलिंकको सेवा दुर्गम क्षेत्रमा समेत पुगिसकेको छ। २७ वर्षदेखि उपस्थित रहेको वर्ल्डलिंकको सेवा नेपालमा ७४ जिल्लामा उपलब्ध छ।