आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जोखिम भार ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई नाडाको सुझाव

जोखिम भार ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई नाडाको सुझाव

 |  बिहीबार, असार ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार ७, २०८०

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोमा उक्त व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ।

बुधबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले दुई करोडभन्दा माथिको व्यवसायमा कुल कारोबारको २५ प्रतिशतमात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पुनरावलोकनका लागि समेत अनुरोध गरिएको हो। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग भेट गरी नाडाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि नयाँ मौद्रिक नीति जारी गर्न लागेको सन्दर्भमा छलफल गर्दै लिखित सुझावहरु समेत पेश गरेको हो।

भेटमा नाडाका अध्यक्ष थापाले विगतमा नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु नाडालाई अप्रिय लागेको भए पनि उक्त नीति निर्देशनहरुका कारण देशको वर्तमान आर्थिक परिदृश्यमा सकारात्मक प्रभाव पार्दै लगेको बताए। गर्भनर अधिकारीले नाडाका सुझावहरुप्रति नेपाल राष्ट्र बैंक सकारात्मक रहेको र आउँदो मौद्रिक नीतिबाट नेपालको अटोमोबाइल क्षेत्रले सहजता महसुस गर्ने विश्वास व्यक्त गरे।

छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्यसमिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्यसमिति सदस्य तथा सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनका अध्यक्ष पुष्कर ओझा समेतको उपस्थिति थियो।

 

प्रकाशित: Jun 22, 2023| 17:17 बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्