इटहरीः कुनै बेला कृष्ण टाकिज र पशुपति चित्र मन्दिर नामका दुइवटा सिनेमा हल भएको इटहरीमा एकाएक हलहरु बन्द भए। विभिन्न कारणले ०६० सालपछि दुवै हलहरु बन्द भएपछि इटहरी ०७१ सम्म फिल्म हलबिहीन बन्यो ।
एक दशक हलबिहीन भएको इटहरीमा स्थानीयहरु फिल्म हेर्न कि धरान कि विराटनगर वा अन्य आसपासका क्षेत्रहरुमा जानुपर्ने बाध्यतामा परे। तर, ०७१ साल कात्र्तिक ७ बाट भने इटहरीबासीले आफ्नै सहरमा फिल्म हेर्ने सपना पुरा भयो। प्रदेश १ कै पहिलो मल्टिप्लेक्स आइ सिनेमा सञ्चालन भएसँगै इटहरीमा फिल्म हेर्ने शैलि नै परिवर्तन भयो ।
तीय सय १८ जना एकै साथ हेर्न मिल्ने यहाँ दुइ वटा हलहरु रहेका यसका व्यवस्थापक पारश सुवेदी बताउँछन। अरुबेला इटहरीबाट बाहिर फिल्म हेर्न जाने दर्शकहरु व्यवसायी रेवति दुलालले पहिलो मल्टिप्लेक्स खोलेपछि फिल्म हेर्न इटहरी आउन थाले ।
आइ सिनेमा बनेकको २ बर्षपछि इटहरीमा १२ डि सिनेमा सञ्चालनमा आयो। युवा व्यवसायी सञ्जय राईले ०७३ असारमा सञ्चालनमा ल्याएको १२ डि पनि प्रदेशकै पहिलो यस्तो प्रकारको हल बन्यो।
०७५ साल असार १ गतेबाट इटहरीमा अर्को मल्टिप्लेक्स हल सुरु भयो । इलाइट सिनेमा नामक उक्त मल्टिप्लेक्समा स्थानीय व्यवसायी कुवेर शर्मासहित नेपाली चलचित्रका हस्तिहरु लगानीकर्ताहरु रहेका छन । छबिराज ओझा, चिरञ्जिवी बस्नेत, प्रदिप उदय, मिजास पोखरेल, दिनेश पोखरेललगायतका लगानीकर्ताहरु छन। दुुईवटा हल रहेको इलाइट सिनेमामा तीन सय ३७ जनाले एकैसाथ हेर्न सकिने यसका संचालक कुवेर शर्मा बताउँछन ।
यहि दसैंबाट इटहरीमा अर्को मल्टिप्लेक्स सिनेमा हल पनि सञ्चालनमा आएको छ। सिने फ्लेक्स रहेको हलको सञ्चालन इटहरीका व्यवसायी राजेश श्रेष्ठले गरेका हुन। यो मल्टिप्लेक्स इटहरीको सबैभन्दा ठुलो मल्टिप्लेक्स पनि हो। यसमा दुइ हलमा एकैसाथ दुई सय ७० जनाले फिल्म हेर्न सक्ने यसका प्रबन्ध निर्देशक सिद्धार्थ श्रेष्ठ बताउँछन। इटहरीको मुख्य बजार क्षेत्रमा रहेको यो हलसँगै इटहरीमा चार वटा मल्टिप्लेक्स भएका छन।
अन्य सहरमा पनि थपिदै मल्टिप्लेक्स
इटहरीमा लगातार खुलेका मल्टिप्लेक्ट संस्कृति विराटनगर र धरानमा पनि सुरु भएको छ। गत बर्षको क्रिसमसको अवसरमा विराटनगरमा सिटि सिनेमा नामक मल्टिप्लेक्स सञ्चालमा आयो ।
यहि बर्षबाट धरानमा पनि गोरखा डिपार्टमेन्ट स्टोर्समा सिनेमा हल सुरु गरेको छ। विर्तामोड, दमकमा पनि थप मल्टिप्लेक्सहरु बन्ने डिमान्ड बढेको व्यवसायी राधेश्याम पौडेल बताउँछन। कुनै बेला चलचित्रको प्राविधिक सामाग्री निर्यात गर्ने व्यवसाय गरेका पौडल भन्छन, ‘नयाँ पुस्ताले सिने संस्कृतिलाइ सम्बोधन गर्नपनि मल्टिप्लेक्स आवश्यक भइरहेको छ। त्यसैको अनुसरण पूर्वी तराईमा सुनसरी, मोरङ र झापामा भइरहेको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४