पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत चितवन राइनोजले दोस्रो जित निकालेको छ । आफ्नो चौथो खेलमा काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवनले दोस्रो जित निकालेको हो । यस जितसँगै चितवनले प्ले आफमा पुग्ने आँसा जिवितै राखेको छ ।
चितवनले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १ सय ३६ रन बनाउन सक्यो । काठमाडौंका लागि गौरभ तोमरले सर्वाधिक ३९ रन जोडे ।
उनले ३५ बल खेल्दै चार चौका र एक छक्कका प्रहार गर्दै ३९ रन जोडेका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३० रन जोड्दा, पवन सराफले २८ र जयकिसन कोल्सावालाले १८ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
चितवनका लागि करन केसीले तीन विकेट लिदा, पारस खड्काले दुई तथा सन्नी पटेल, भुवन कार्की र स्थित पटेलले समान एक एक विकेट लिए ।
यसअघी चितवनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ४९ रन बनाएको थियो ।
चितवनका लागि हरिशंकर साहले अर्धसतकीय पारी खेलेका थिए । उनले ४९ बल खेल्दै पाँच चौका र तीन छक्काको मद्दतमा ६० रन जोडेका हुन् । स्मित पटेले ३१ रन जोडे ।
उनले २४ बल खेल्दै तीन चौका र एक छक्काको मद्दतमा ३१ रन जोडेका थिए । त्यस्तै अनिल कुमार साहले २७, कप्तान खड्काले १४ र सन्नी पटेलले १३ रन जोडे । काठमाडौंका लागि बसन्त रेग्मीले दुई विकेट लिदा, नन्दन यादव र पवन सराफले समान एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४