‘इनार खन्यो पानी आउँदैन। बोरिङ खन्ने पैसा छैन। दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ। खानेपानीको हाहाकार छ। अरु स्रोत छैनन्। असारमा झनै समस्या हुन्छ। कसरी बाँच्ने हो?’ वीरेन्द्रनगर–१ लालीगुराँस टोलकी दिलकुमारी विक र निक्की कुमाल भन्छन्। विक र कुमालको दैनिकी खानेपानीको लाइनमै बित्छ।
बिहान छोराछोरीलाई स्कुल पठाएर पानी भर्न आउँदा एकगाग्री पानी भर्न ३ बजे पालो आउँछ। सोलिघोप्टे गैराबाट पाइपबाट ल्याएको सानो पानीमा एकगाग्री पानी भर्न आधा घण्टा लाग्छ। वीरेन्द्रनगर नगरपालिकाको झुप्रा खोलाबाट वितरण हुने खानेपानीको धारामा १० दिनसम्म पानी आउँदैन। प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।
पानीका मुहानहरू खडेरीले सुक्दै जानु, अव्यवस्थित विकास र अन्य प्राकृतिक प्रकोपहरूका कारण पनि खानेपानीको समस्या सिर्जना भएको छ। सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकी मनिषा थापा स्थानीय सरस्वती माविमा कक्षा ५ मा पढ्छिन्। विद्यालय समयमै पुग्न उनलाई सधैं कठिन हुन्छ। कारण, खानेपानी समस्या। बिहान ५ बजे उठेर पानी लिन धारामा जाने उनलाई हातमुख धोएर एक जर्किन पानी भरेर घर आइपुग्दा नै १० बज्छ।
पानी अभावले सरसफाइ गर्न पनि समस्या हुन्छ। धारामा पनि विद्यालय जाने बालबालिका धेरै हुन्छन्। पालो पाउनै सधैं सबैलाई मुस्किल पर्छ। मनिषा भन्छिन्, ‘कति दिन त पानी भर्ने पालो नपाएर रित्तै घर फर्केको छु। हातमुख नधोएरै स्कुल गएको छु।’ गर्मी मौसम सुरु भएसँगै धारामा साता दिनमा एकपटक पानी आउने गरेको उनले बताइन्। धारामा नियमित र पर्याप्त पानी नआउँदा निकै समस्या भएको उनले भनाई छ।
मनिषाले भनिन्, ‘झोप्रा बृहत् खानेपानीको धारा ठूलाबडाका घरमा मात्र आउँछ रे ! बजार तिरबाट अगाडि पानी आउँदैन। सडकको छेउमा सोलिघोप्टे गैराबाट ल्याएको पाइपमा थोरै पानी आउँछ। यहाँका सबै बस्तीहरू यसै पानीको भरमा छन्। एकगाग्री पानी भर्न ५ घण्टासम्म लाइन कुर्नुपर्ने समस्या छ।’ प्रगतिशील टोल, आँपखोली टोल, लालीगुराँस टोल, एकता टोल, त्रिपुरेश्वर टोल, धारापानी टोल लगायतका ठाउँमा पानीको धेरै समस्या छ।
वीरेन्द्रनगरका १ देखि १२ सम्म खानेपानीको समस्या छ। खानेपानी सिँचाइ तथा ऊर्जा विकास निर्देशनालयका सूचना अधिकारी डोरप्रसाद उपाध्यायले वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान भेरीको पानी पम्पिङ गरेर नल्याएसम्म समाधान गर्न सम्भव नरहेको बताए। उनले भने, ‘वीरेन्द्रनगरका साथै जिल्लाका अन्य पालिकाहरूमा पनि खानेपानीको समस्या छ। समस्या समाधानका लागि स्थानीय पालिकासँग समन्वय गरेर कामहरू भइरहेका छन्।’
भेरी पम्पिङमा काम नहुँदा बर्सेनि रकम फ्रिज भइरहेको छ। संघीय सरकारले अघिल्लो वर्ष २ करोड र गत आर्थिक वर्ष ६ करोड रुपैयाँ छुट्ट्याएको थियो। गत वर्ष प्रदेश सरकारले छुट्ट्याएको ५० करोड रुपैयाँ कामै नभई फिर्ता गएको थियो। बजारवासीहरूले गाडीमा पिउने पानी ओसार्ने गरेका छन्। दैनिकी पानी बोकेर जान्छ। गाउँमा खानेपानीको हाहाकार छ। गाईबस्तु पनि छन्। मान्छेदेखि पशुसम्म गाग्रीमा बोकेकै पानीको भरमा छन्।
‘खानेपानीको समस्या भोग्न थालेको वर्षौं भइसक्यो। पिउने पानीकै अभाव छ। पानी बोक्दा बोक्दै थाप्लोका कपाल पनि झरीसक्यो,’ उनले भनिन्, ‘नुहाउन त कहाँ हो कहाँ। मुख धुन पनि धारामा पालो पाइँदैन। थोरै पानी आउँछ। पानी भर्नेहरूको लाइन ठूलो हुन्छ। धारामा सधैं गाग्री सम्मेलन हुन्छ।’ कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरका नागरिकहरु अहिले खानेपानीको चरम अभावमा छन्।
वीरेन्द्रनगरमा खानेपानी संकट चुलिएको छ। गर्मी समय सुरु भएसँगै पानीको चरम संकट निम्तिएको छ। दुई सातामा एक दिनमात्रै धारामा पानी आउने गरेको वीरेन्द्रनगर नगरपालिका–१ की बसन्ती खड्का बताउँछिन्। उनले भनिन्, ‘दुई सातामा एक दिन अलिकति पानी आउँछ। अरु स्रोत छैनन्। इनार खन्यो पानी आउँदैन। खानेपानीको हाहाकार छ। असारमा झनै समस्या हुन्छ। खानेपानी नभए कसरी बाँच्ने हो?’
वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मागअनुसार मात्रामा पानी आपूर्ति गर्न सकिरहेको छैन। वीरेन्द्रनगरको वडा नं.९ मा पनि खानेपानीको संकट चुलिएको छ। धारामा १५–१६ दिनमा एक घण्टा मात्र पानी आउने गरेको छ। कहिलेकाहीँ एक गाग्री पानी भर्न नपाउँदै पानी सुक्ने गरेको स्थानीय नागरिक बताउँछन्। वडा नं. ९ का स्थानीय विनोद गुरुङले खानेपानीको हाहाकार भएको बताए।
गाउँमा रहेको एउटा कुवाले एक–दुई टोललाई जेनतेन धानेको उनले बताए। ‘प्रदेश राजधानीमै खानेपानीको व्यवस्था छैन। गर्मीयामसँगै खानेपानीको थप समस्या भइरहेको छ,’ गुरुङले भने। आफूले जारको पानी किनेर खाने गरेको भन्दै गाईबस्तुलाई समेत पानी नहुँदा समस्या भइरहेको जनाए। वडाले खानेपानीको समस्या समाधान गर्न दुई वटा डिप बोरिङ खनेको थियो। ती बोरिङ्गसमेत सञ्चालनमा आउन सकेका छैनन्।
वडामा चुलिएको खानेपानीको समस्या समाधानका लागि पुराना कुवालाई मर्मत गर्ने, स–साना खानेपानीका मुहानको मर्मत गर्न थालिएको वडाध्यक्ष क्रृषि गिरीले बताए। उनले भने, ‘अघिल्लो कार्यकालमा खनिएका डिप बोरिङ्ग प्रयोगमा छैनन्। एउटा नयाँ बोरिङ्ग सञ्चालनमा ल्याउँदैछौँ।’ वीरेन्द्रनगरमा १२० घण्टामा एक पटक पानी वितरण गर्ने सुर्खेत उपत्यका खानेपानी संस्थाको तालिका छ। उपभोक्ता भने तालिका अनुसार पानी नआएको बताउँछन्।
वीरेन्द्रनगर–३ की देवि भट्टराई धारामा पानी नआउने र आए पनि एक–आधा घण्टा मात्र आउने गरेको बताउँछिन्। खानेपानी संस्थाले पनि आवश्यक मात्रामा खानेपानी आपूर्ति हुन नसकेको स्वीकारेको छ। संस्थाका कार्यालय प्रमुख डम्बर गौतमले पानीका मुहान सुक्न थालेकाले पानी पर्याप्त मात्रामा पुर्याउन नसकिएको बताए। उनका अनुसार प्रतिसेकेन्ड २७५ लिटर खानेपानीको माग हुने गरेकोमा प्रतिसेकेन्ड ८० लिटर मात्र उत्पादन हुने गरेको छ।
प्रादेशिक केन्द्र बनेपछि वीरेन्द्रनगरमा दिनहुँ जनसंख्या बढ्दो क्रममा छ। अन्य जिल्लाबाट बसाइँ सरी आउने र नयाँ घर बन्ने क्रम झनै तीव्र रूपमा बढ्दो छ। यसले खानेपानीको समस्या बढ्दै गएको सुर्खेत उपत्यका खानेपानी संस्थाका प्रमुख गौतम बताउँछन्। गौतमका अनुसार संस्थाले २० हजारभन्दा बढी धारामा पानी दिने गरेको छ। मागअनुसार खानेपानी पुर्याउन नसकिएको उनले बताए।
मुहानमै पानी सुक्दै गएकाले पाँच दिनमा एक पटक खानेपानी वितरण भइरहेको उनको भनाइ छ। उनी भन्छन्, ‘छोटो समयमा उल्लेख्य रूपमा उपभोक्ताको संख्या बढेको छ। प्रदेशको राजधानी बनेपछि झन् जनसंख्या बढेको छ।’ बढ्दो सहरीकरण, प्रशासनिक, शैक्षिक, पर्यटकीय, औद्योगिक र व्यापारिक केन्द्रको विकाससँगै उपत्यकामा दिनानुदिन जनसंख्या बढ्दै गएपछि खानेपानीको माग र आपूर्ति बीचमा असन्तुलन देखिएको गौतमले बताए।
पछिल्लो समय खानेपानीका मुहान स्रोत सुक्दै गइरहेका छन्। उनी भन्छन्, ‘पानीका स्रोत थपिए केही राहत भने पक्कै हुुनेछ।’ वीरेन्द्रनगर उपत्यकामा हाल खरी खोला, बोरी खोला, झुप्रा, इत्राम खोला र खोर्के खोलाबाट १५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइएको संस्थाका प्रमुख गौतमले जानकारी दिएका छन्। यी पानीका स्रोतको पनि अपुग भएपछि पाँच दिनमा एक दिन गरेर वितरण गरिँदै आएको छ।
प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसङ्ख्या बढ्दो छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए। उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्दथ्यो। संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १२८ लिटर प्रतिसेकेन्ड पानी मात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो।
३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ। यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ। अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो। खडेरीको समयमा माग बढ्ने भए पनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको देवकोटाले बताए। प्रमुख पानीको स्रोतको रूपमा झुप्रा खोलालाई लिने गरिन्छ।
विकल्प खोज्दै भेरी नदीतिर
वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधान गर्नका लागि विकल्पको खोजी गरिएको छ। दीर्घकालीन रूपमा समस्या समाधान गर्न भेरी नदीको पानी पम्पिङ गरी ल्याउनका लागि असारसम्म टेण्डर आह्वान गरिने नगरपालिकाले जनाएको छ। वल्र्ड बैंक, नेपाल सरकार र नगरपालिकाबीच त्रिपक्षीय सम्झौता यसअघि नै भइसकेको छ। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (इआईए) सम्पन्न भइसकेको छ।
असारभित्रै ठेक्का प्रक्रिया सुरु हुने नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बताए। आयोजना सुरु भएपछि भेरी नदीको पानी पम्पिङ गरी वितरण गरिने छ। यसले उपत्यकाको खानेपानी अभाव समाधान हुने अपेक्षा गरिएको छ। बर्सेनि भइरहने खानेपानी समस्यालाई समाधान गर्न भेरीको पानी ल्याउने सुरु भइसकेको खनालले बताए। उनका अनुसार हालै आयोजनाको डिपिआर सम्पन्न भएको छ।
तीन दशकपछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न ‘भेरी पम्पिङ’ आयोजना अघि बढाइएको पनि उपप्रमुख खनालले बताए। ६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विषयमा हालै नगरपालिकामा बृहत् छलफल भएको छ। खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालका अनुसार पानी प्रशोधन केन्द्र लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्नेछ।
०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो। भेरीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् वीरेन्द्रनगर उपत्यकामा ल्याउने भनिएको छ।
वन क्षेत्र भएकाले इआइए गर्नुपर्ने भए पनि अहिलेसम्म त्यो काम अघि बढेको छैन। इआइए भए औपचारिक रुपमा आयोजनाको काम सुरु हुने अपेक्षा छ। दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ। वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन ड्राफ्ट गरेको छ।
नगर सभाबाट पास भएपछि आयोजनाको टेन्डर प्रक्रियामा अघि बढ्नेछ। उनले भनिन्, ‘आयोजनाको दुई चरणमा काम गरिनेछ। पहिलो चरणको कार्यका लागि बजेट सुनिश्चित भइसक्यो। पहिलो चरणको काम तीन वर्षमा सम्पन्न हुनेछ। आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने मेयर ढकालको दाबी छ। नगर प्रमुख मोहनमाया ढकालका अनुसार असार मसान्तसम्म आयोजनाको टेन्डर आह्वान हुनेछ।
पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ। आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ। पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ। भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ। त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ। अनि, ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ। अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ। आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसङ्ख्या लाभान्वित हुनेछ। आयोजना सम्पन्न नहुञ्जेलसम्म भइरहेका संरचना र पम्पिङ गरिएको पानीबाट खानेपानी सहज बनाइने नगर प्रमुख ढकालले बताइन्। आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लका अनुसार आर्थिक वर्ष २०८०–०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट अनुमान गरिएको छ।
त्यसमा संघीय सरकारको ८५ करोड, वीरेन्द्रनगर नगरपालिकाको ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेट विनियोजन गर्नुपर्ने हुन्छ। आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्नेछ।
यस्तै असार मसान्तसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उप आयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता गराइ सक्नुपर्ने छ। वीरेन्द्रनगरमा पानी वितरण गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजनाको लागि अहिले सुनिश्चित भएको बजेट अपुग हुने भएकाले ८ अर्ब बजेट सुनिश्चित गरिनुपर्ने बताए।
-रासस