काठमाडौं- बझाङमा भएको जिप दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ। उनलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याइएको थियो।
अस्पताल पुर्याउँदासम्म मन्त्री सिंहको नाबीमा चाल नभएको र मुटुको धड्कनले काम गर्न छोडिसकेको अस्पतालका निमित्त निर्देशक प्रा.डा. ढुण्डीराज पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'नेपाली सेनाको हेलिकोप्टरबाट ४ बजेर ५८ मिनेटमा ल्याइ पुर्याइएका मन्त्रीज्यूसहित २ जना अन्य घाइतेहरुको अस्पतालमा आउने बेला नै अवस्था गम्भीर रहेको थियो। मन्त्री ज्यूको अस्पतालमा पुग्ने बेलामा शरिरमा नाबीको चाल थिएन भने मुटुको धड्कनले पनि काम गर्न छाडिसकेको अवस्था थियो।'
अस्पतालको सम्पूर्ण टिमले अस्पतालको श्रोत साधनले भ्याएसम्म सिपिआर डिसी सकलगायत कृतिम श्वासप्रश्वास इन्टुबेसनसम्म गरे पनि उनको शरिरमा जिवित लक्षयणहरु केहि नदेखिएर ५ बजेर ३३ मिनेट चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रा.डा. पौडेलले जानकारी गराएका छन्।
मंगलबार दिउँसो २ बजेतिर डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सिंहसहित पाँच जना चढेको सुप ०१००१ मा ४८० नम्बरको कार दुर्घटनामा परेको हो। सिंहसहित दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन्। दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो।
चालक धर्मराज जोशी र सुरक्षा गार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ। मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो।
जिप दुर्घटनामा सुदूरपश्चिमका कानुनमन्त्री सिंहको निधन