NadaNada
बिहीबार, भदौ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • काठमाडौं महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व संकलन

काठमाडौं महानगरद्वारा ११ महिनामा आठ अर्ब राजस्व संकलन

 |  मंगलबार, असार ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असार ५, २०८०

vianetvianet

काठमाडौं- काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व सङ्कलन गरेको छ।

आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९–८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ रुपैयाँ राजस्व सङ्कलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशत मात्रै हो।

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख रुपैयाँ राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ।

राजस्व सङ्कलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ।

विभागका अनुसार आव २०७८–७९ मा महानगरले तीन अर्ब ७२ करोड मात्रै आन्तरिक आय सङ्कलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घर बहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ।

Metro Mart

चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व सङ्कलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ।

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ। राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्बले कमी भएको देखिन्छ।

गत आव २०७८–७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख थियो, जुन एक सय छ प्रतिशत रहेको थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशत मात्रै महानगरलाई बाँडफाँट भएको हो।

गत आवमा दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो। तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो।

विभागका प्रमुख काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए। राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ।

प्रकाशित: Jun 20, 2023| 09:21 मंगलबार, असार ५, २०८०
प्रतिक्रिया दिनुहोस्