NadaNada
शुक्रबार, भदौ ६, २०८२

फेरि रुवायो प्याजले

नेपाली बजारमा प्याजको मूल्य चर्को भएको यो पहिलो पटक होइन। चार वर्षअघि पनि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्ता मारमा परेका थिए।
 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- याद गर्नुभएकै होला- प्याज काट्दा आँसु आउँछ। कारण- प्याजमा हुने एक प्रकारको इन्जाइमले आँखामा असर गर्ने गर्छ। इन्जाइमका कारण आँसु आउने कुरा त छँदैछ, अहिले भने मूल्यका कारण आँसु आउने अवस्था आएको छ। आम उपभोक्ता अहिले चर्को मूल्य तिरेर प्याज किन्न बाध्य भएका छन्। कृत्रिम अभाव त छँदैछ।

जेठ १५ मा बजेट हुनुअघिको तुलनामा प्याज अहिले दोब्बर महँगो भएको छ। सरकारले बजेटमार्फत आलु र प्याजमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि यस्तो अवस्था आएको हो। भ्याटका कारण केही व्यापारीले आलु-प्याज ल्याएका छैनन् र त्यसको फाइदा उठाउँदै खुद्रा व्यापारीले कालोबजारी गर्न थालेका छन्। आयातमै निर्भर भएको प्याजको मूल्य यतिबेला मनोमानी छ। जेठ १४ सम्म खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज अहिले ९० देखि १ सय रुपैयाँसम्म पुगेको छ।

पक्ष-विपक्षमा तर्क
अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत आलु, प्याजजस्ता केही कृषिजन्य वस्तुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि त्यसको पक्ष र विपक्षमा बहस भइरहेको छ। यसबारे व्यापारी र किसानका भिन्नभिन्न धारणा आएका छन्।

आलु–प्याजमा भ्याट लगाएर उपभोक्ताको चुलो महँगो बनाएको भन्दै संसद्‍मा समेत विरोध भएको छ। सरकारले अहिलेसम्म आलु, प्याजमा ९ प्रतिशत कृषि सेवा शुल्क, अग्रिम आयकर ५ प्रतिशत गरी १४ प्रतिशत कर लिँदै आएकोमा अब यसमा १३ प्रतिशत भ्याट थपिएको छ। अर्थमन्त्री महतले स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न आयातित वस्तुमा मात्र भ्याट लगाएको पटक–पटक बताइरहेका छन्, तरपनि विरोध रोकिएको छैन ।

यही जेठ १५ मा बजेट सार्वजनिक भएपछि तरकारी आयातमा संलग्न व्यवसायीहरुले भ्याट लगाइएकोमा विरोध गर्दै आएका छन्। अहिले अधिकांश व्यापारीले भारतबाट आलु र प्याज आयात पनि रोकेका छन्। उनीहरुले आफूहरु प्यानमा दर्ता भएर कारोबार गरिरहेको र भ्याट लगाउँदा बिलबिजक जारी गर्न समस्या हुने, स–साना व्यापारीबाट भ्याट फिर्ता ल्याउन पनि समस्या हुने बताउँदै आएका छन्।

Metro Mart

किसानका प्रतिनिधि संस्थाहरुले भने आलु, प्याजलगायत वस्तुको आयातमा लगाएको भ्याटको स्वागत गरेका छन्। बिहीबारमात्र किसानहरुको एउटा समूहले अर्थमन्त्री महतलाई भेटी तरकारीको आयातमा भ्याट लगाएर स्वदेशी वस्तुलाई प्रोत्साहन गरेको भन्दै धन्यवाद दिए। अर्थ मन्त्रालयमा बिहीबार नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल व्यवसायी कृषक संघ, म नेपाली किसानलगायत कृषक सम्बद्ध संस्थाहरुले आयातित आलु, प्याज, तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन बढाउन वातावरण बनाएको भन्दै महतलाई धन्यवाद दिएका थिए।

कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले आलु, प्याजमा भ्याट लगाएको विषयमा नचाहिँदो विरोध गर्नु आवश्यक नरहेको बताए। उनका अनुसार आलु र प्याजमा उच्च कर लगाएमात्र आन्तरिक उत्पादन बढ्छ । किसानले बजार र मूल्य पाउने वातावरण बने स्वाभाविकै रुपमा उत्पादन बढ्नेछ।

काठमाडौंमा मात्र दैनिक करिब १ लाख किलो प्याज र ४ सय टन आलु खपत हुने अनुमान छ। स्वदेशी उत्पादन नहुँदा ९९ प्रतिशत प्याज आयात गर्नुपर्ने अवस्था छ। यस्तै, ९५ प्रतिशत आलु आयात गर्नुपर्छ। स्वदेशी उत्पादन नहुँदा बजारको माग आपूर्ति गर्न आयात गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ।

कति आउँछ भारतबाट ?
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा भारतबाट दैनिक करिब १५० टन आलु र ८०/९० टन प्याज भित्रिने गरेकामा बजेट आएपछि आयात ठप्पै भएको छ। तरकारीका सबैजसो व्यापारी प्यानमा दर्ता भएकाले भ्याटमा जान झन्झटिलो हुने हुँदा आयात गर्न छोडेका हुन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आलुको आन्तरिक उत्पादन ३४ लाख ५४ हजार टन छ भने माग ३७ लाख ९४ हजार टन। स्वदेशी उत्पादनले बजारको माग आपूर्ति नहुँदा वार्षिक ३ लाख ४० हजार टन आयात हुने गरेको छ। यस्तै, प्याज स्वदेशी उत्पादन २ लाख ६२ हजार टन छ भने माग ४ लाख ३६ हजार टन।

बजारमा आपूर्ति पर्याप्त नहुँदा १ लाख ७४ हजार टन प्याज आयात हुन्छ। मन्त्रालयको तथ्यांकअनुसार आलु मागको ८.९५ प्रतिशत आयात हुन्छ भने प्याज ३९.८४ प्रतिशत। स्वदेशी उत्पादन नहुँदा आलु आयातमा वार्षिक साढे ५ अर्ब रुपैयाँ बाहिरिने गरेको छ। यस्तै, प्याजका लागि साढे २ अर्ब रुपैयाँ बाहिरिन्छ।

नेपाली बजारमा प्याजको मूल्य चर्को भएको यो पहिलो पटक होइन। चार वर्षअघि पनि भारतले निर्यातमा प्रतिबन्ध लगाउँदा नेपाली उपभोक्ता मारमा परेका थिए। त्यतिबेला प्याज प्रतिकिलो दुई सय रुपैयाँसम्म पुगेको थियो।
०७६ भदौ २९ मा आन्तरिक माग नपुगेको भन्दै भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा परेको थियो।

प्रकाशित: Jun 16, 2023| 16:30 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्