काठमाडौं– भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष कायम गरिएको सरकारी लक्ष्यको करिब ५८.५७ प्रतिशत मात्रै कर असुली भएको छ।
चालू आर्थिक वर्षको ११ महिनामा ६ खर्ब ९ अर्ब रुपैयाँ भन्सारबाट राजस्व उठाउने लक्ष्य राखिएकामा ३ खर्ब ५६ अर्ब ७५ करोड रुपैयाँ मात्रै असुल भएको विभागले बताएको हो।
यस अवधिमा विभागले बाह्यतर्फको मूल्य अभिवृद्धि करबाट २ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा १ खर्ब ५८ अर्ब ३० करोड अर्थात् लक्ष्यको ६७.६५ प्रतिशत मात्रै संकलन भएको छ।
बाह्यतर्फको अन्तःशुल्कबाट ७२ खर्ब ५२ करोड संकलन गर्ने लक्ष्य राखिएकामा २९ अर्ब ७० करोड रुपैयाँ मात्रै असुली भएको छ, जुन लक्ष्यको ४०.९५ प्रतिशत मात्रै हो।
यस अवधिमा भन्सार शुल्क २ खर्ब ८० अर्ब ३८ करोड उठाउने लक्ष्य राखिएकामा १ खर्ब ५७ अर्ब ८६ करोड रुपैयाँ मात्रै असुल भएको विभागको तथ्यांक छ, जुन लक्ष्यको ५६.३० प्रतिशत मात्रै हो।
विदेशी मुद्रा सञ्चितिमा दबाबका कारण सरकार तथा राष्ट्र बैंकले आयातमा लगाएको प्रतिबन्ध एवं एलसीमा गरिएको कडाइले भन्सार राजस्वमा कमी आएको विभागले बताएको छ।