NadaNada
शुक्रबार, भदौ ६, २०८२

दुर्व्यवहार आरोपित एसएसपी पाल निलम्बित, के थियो घटना? 

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं- महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) योगबहादुर पाल निलम्बित भएका छन्।

महिला प्रहरीमाथि दुर्व्यवहार गरेको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले शुक्रबार एसएसपी पाललाई निलम्बन गरेको हो। प्रहरी प्रधान कार्यालयले बिहीबार पाललाई निलम्बनका लागि मन्त्रालयमा पत्र पठाएको थियो।

केही दिनअघि महेन्द्रनगरस्थित प्रादेशिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएको थियो।

के थियो घटना? 
कञ्चनपुरको महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी पालले आफ्नै कार्यालयमा कार्यरत महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो। दुर्व्यवहारमा परेकी ती प्रहरीले धनगढीस्थित प्रदेश प्रहरी कार्यालयमा पालविरुद्ध उजुरी दिएपछि प्रहरीकै वरिष्ठ अधिकृतबाट भएको यौन दुर्व्यवहारको घटना बाहिर आएको हो।

एक महिला प्रहरी सहायक हवल्दार जेठ १९ गते बिदा स्वीकृत गराएर घर जाने तयारीमा थिइन्। उनले कर्मचारी प्रशासन हेर्ने अधिकृतसँग बिदा स्वीकृत गराइसकेकी थिइन्।

Metro Mart

बिदाबारे कार्यालय प्रमुख रहेका पाललाई जानकारी दिइयो। पालले आफ्नो सञ्चार सेटबाटै बिदा जाने हवल्दारलाई आफूलाई भेट्न पठाइदिनू भनेका थिए। त्यहाँ कार्यरत एक प्रहरी अधिकृतका अनुसार त्यसबेला पाल आफ्नो निवासमा थिए।

बिदा स्वीकृत भइसकेकी महिला प्रहरी कार्यालय प्रमुखले नै भेट्नू भनेपछि उनको निवासमा पुगिन्। उनले उजुरीमा उल्लेख गरेअनुसार एसएसपी पालले उनलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भनेको बताइएको छ। उनले त्यहीँ नै त्यसको प्रतिवाद गरेकी थिइन्। यो विषय उनले ड्युटी अफिसरलाई जानकारी दिएर प्रदेश प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। 

दुर्व्यवहारमा परेकी प्रहरीले घटनाबारे परिवारलाई जानकारी गराएपछि परिवारले पत्रकार सम्मेलन गरेरै घटना सार्वजनिक गर्ने तयारी गरेको थियो। तर प्रहरीबाटै दबाब आएपछि परिवारले पत्रकार सम्मेलन नगरेको र एसएसपी पालले सामान्य विषयलाई ठूलो बनाउन हुँदैन भन्दै फकाउने प्रयास गरेको पनि आरोप लगाइएको छ।

यसअघि एसएसपी पालले सोलुखुम्बु जिल्ला प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा पनि यौन दुर्व्यवहारको आरोप लागेको थियो। सहकर्मीबाट आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोसेको थियो। तर, उनीमाथि त्यसबेला पनि कुनै कानूनी कारबाही अगाडि बढाइएन। 

एसएसपी पाल २०५२ सालमा राजनीतिक पहुँचको आधारमा राष्ट्रिय अनुसन्धान विभाग (राअवि)मा उनी प्रहरी निरीक्षकमा भर्ना भए। २०५८ पुस २५ को मन्त्रिपरिषद् बैठकले राअविबाट ३० प्रहरी निरीक्षकसहित ४६ जनालाई नेपाल प्रहरीमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो। त्यही निर्णयबाट नेपाल प्रहरीमा भित्र्याइएकामध्ये पाल पनि एक हुन्।

राअविका अधिकृतहरूलाई सिधै नेपाल प्रहरीमा स्थानान्तरण गराउन तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काको जोडबल रहेको प्रहरी अधिकृतहरू बताउँछन्।

पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले राअविबाट प्रहरी सेवामा कसरी स्थानान्तरण गराइयो र त्यसका लागि कस्तो दबाब दिइयो भनेर आफ्नो आत्मकथामै लेखेका छन्। खरेल राअविका अधिकृतहरूलाई नेपाल प्रहरीमा स्थानान्तरण गर्ने प्रयासमा सहमत थिएनन्। उनले आफू आईजीपी रहुन्जेल त्यसरी ल्याइएकालाई हेडक्वार्टर प्रवेश नै गर्न नदिने अडान राखेका थिए। त्यहीकारण उनको पालामा यसबारे निर्णय भएन।

पछि प्रदीपशमशेर जबराको पालामा मात्र उनीहरूलाई स्थानान्तरण गरिएको थियो। पछि पालसँगै राअविबाट नेपाल प्रहरीमा स्थानान्तरण भएका धेरैजसो अधिकृत विवादमा पर्दै आएका छन्।
 

प्रकाशित: Jun 16, 2023| 16:00 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्