NadaNada
शुक्रबार, भदौ ६, २०८२

११ महिनामा सरकारी आम्दानी र खर्च दुवै लक्ष्यभन्दा कम

सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो।
 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं– चालू आर्थिक वर्ष २०७९/८० को ११ महिनामा सरकारको आम्दानी ६० प्रतिशत र व्यय (खर्च) ६५ प्रतिशत बराबर मात्रै देखिएको छ। सुरुआती विनियोजित लक्ष्यको तुलनामा जेठ मसान्तसम्मको सरकारी आम्दानी र खर्च निकै न्यून हो।

महालेखा नियन्त्रक कार्यालयको जेठ मसान्तसम्मको तथ्यांकअनुसार यो अवधिसम्म बजेट खर्च ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख बराबर छ, जुन चालु आर्थिक वर्षको सुरुआती विनियोजनको ६५.५६ प्रतिशत बराबर हो। सरकारले चालू आर्थिक वर्षका लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो।

जेठ मसान्तसम्मको चालूगततर्फको खर्च सुरुआती विनियोजनको ७४.१५ प्रतिशत बराबर छ। चालू आर्थिक वर्षका लागि चालूगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बराबर बजेट विनियोजन भएकामा हालसम्म ८ खर्ब ७७ अर्ब ३९ करोड ४४ लाख खर्च भएको छ।

त्यस्तै, पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाखको वार्षिक बजेट रहेकामा जेठ मसान्तसम्म ४०.२४ प्रतिशत अर्थात् १ खर्ब ५३ अर्ब ८ करोड ४२ लाख बराबर खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकमा २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख वार्षिक बजेट विनियोजन भएकामा जेठ मसान्तसम्म सुरुआती विनियोजनको ६३.२४ प्रतिशत अर्थात् १ खर्ब ४५ अर्ब ५८ करोड ७१ लाख बराबर खर्च भएको छ।

Metro Mart

जेठ मसान्तसम्मको राजस्व संकलन पनि लक्ष्यभन्दा निकै न्यून छ। यो अवधिसम्मका सरकारको कुल राजस्व प्राप्ति वार्षिक लक्ष्यको ६० दशमलव ३६ प्रतिशत अर्थात् ८ खर्ब ८० अर्ब ३८ करोड ७९ लाख बराबर रहेको छ। सरकारले चालू आर्थिक वर्षका लागि रु १२ खर्ब ९५ अर्ब ३७ करोड ५८ लाख कर राजस्व, १ खर्ब ७ अर्ब ७७ करोड १२ लाख गैरकर राजस्व र ५५ अर्ब ४५ लाख ८३ करोड वैदेशिक अनुदान लिने लक्ष्य राखिएको थियो।

जेठ मसान्तसम्मको कर राजस्व संकलन लक्ष्यको ५८.५९ प्रतिशत अर्थात् ७ खर्ब ५९ अर्ब, गैरकर राजस्व संकलन ७२.२४ प्रतिशत अर्थात्  ७७ अर्ब ८५ करोड ३७ लाख र वैदेशिक अनुदान ८.६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर रहेको छ। यसरी सरकारको आयभन्दा व्यय धेरै हुँदा जेठ मसान्तसम्मको बजेट घाटा २ खर्ब ९५ अर्ब ६७ करोड वरपर रहेको छ।

दुई पटक संशोधन गर्दा पनि लक्ष्य भेटिनेमा शंका
सरकारले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै दोस्रो पटक बजेट संशोधन गरेको थियो। सरकारले चालू आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत पनि बजेट खर्चको अनुमान संशोधन गरेको थियो।

दोस्रो पटकको संशोधित लक्ष्यअनुसार चालू आर्थिक वर्षमा सरकारले रु १५ खर्ब ४ अर्ब ९९ करोड अर्थात् सुरुआती विनियोजनको ८३.९० प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान गरेको छ। संशोधित लक्ष्य भेट्याउन सरकारले चालू आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्रै ३ खर्ब २९ अर्ब बराबर बजेट खर्च गर्नुपर्ने देखिएको छ।

दोस्रो पटकको संशोधित अनुमानअनुसार चालू खर्च १० खर्ब ४३ अर्ब ४९ करोड अर्थात् सुरुआती विनियोजनको ८८.१८ र पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड अर्थात् सुरुआती विनियोजनको ६७.९१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३ अर्ब २६ करोड अर्थात् सुरुआती विनियोजनको ८८.२९ प्रतिशत खर्च हुने अनुमान गरिएको छ।

चालू आर्थिक वर्षमा राजस्व संकलन ११ खर्ब ७९ अर्ब ४४ करोड बराबर हुने संशोधित अनुमान छ, जुन वार्षिक लक्ष्यको ८४ प्रतिशत हो भने गत वर्षको तुलनामा ५ प्रतिशतले न्यून हो। जेठ मसान्तसम्मको अवस्था हेर्दा राजस्व संकलनको संशोधित लक्ष्य भेट्याउन पनि सरकारले असार महिनामा मात्र करिब ३ खर्ब राजस्व उठाउनुपर्ने देखिन्छ।

प्रकाशित: Jun 16, 2023| 15:17 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्