पाल्पा–विगत वर्ष खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बिउ हुन्थे। असारको दोस्रो सातापछि धान रोप्ने किसानले तयारी गर्थे। तर यस पटक भने वर्षा नपरेपछि बिउ राख्न समस्या भएको किसानले बताएका छन्।
असार सुरु हुँदासमेत पानी नपर्दा बिउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बिउ ब्याडमै उम्रन पाएका छैनन्। हरेक वर्ष हिले ब्याड राख्ने गरेकामा यसपटक पानी अभावमा धुले ब्याड राख्न बाध्य भएको पाल्पाको रामपुरका किसान डोलराज तिवारी बताउँछन्।
‘समयमा पानी पर्न सकेन। धुले ब्याड बनाएर बिउ राखियो। सिँचाइ दिन सकिएको छैन। दिनभर चर्को घामबाट जोगाउन स्याउला तथा बोराले माथिबाट ढाकेर राखिएको छ’, उनले भने।
तिवारीका अनुसार कुलोको पानी पालोअनुसार सिँचाइ दिन रातदिन धाउनुपरेको छ। पर्याप्त सिँचाइ दिन नपाउँदा ब्याडमा उम्रँदै गरेको बिउ सुक्ने अवस्थामा छन्।
रातभर खेतमा पानीको पालो कुलेर बस्दासमेत दुई दिनमा एकपटक सिँचाइ दिन सकस भएको बताउँछिन्, शोभा आले। ‘पानीको पालोअनुसार ब्याड सिँचाइ गर्न दिनरात नभनीकन खेतमा धाउनुपरेको छ’, उनले भने, ‘दुई दिन बित्दासमेत पालो आउन मुस्किल पर्छ। खेतमा बिउ सुक्न लागिसक्यो, अकासे पानी नपरेपछि किसानले धेरै सास्ती खेप्नुपरेको छ।’
घरधन्दा, छोराछोरीको रेखदेखका बाबजुद रातभर खेतमा पानी पालो पर्खेर बस्न पर्दा महिलालाई धेरै अप्ठ्यारो हुने गरेको मन्जु पंगेनीले बताइन्। रातीको समय डरत्रासका बाबजुद कुलोको मुहानमा पुगेर पानी ल्याएर सिँचाइ गर्न महिलालाई सकस परेको आलेको भनाइ छ।
अहिले ब्याड बनाएर बिउ राख्ने यहाँका किसानले अहिले पानी अभावमा धेरैले धुले ब्याड राखेका छन्। असार लागिसक्दा पनि कतिपय ठाउँमा बिउ अझै राख्न पाइएको छैन। यस वर्ष मनसुन ढिला सुरु हुँदा धानको बिउ राख्न किसानले धेरै समस्या भोग्नुपरेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए।
उनी भन्छन्, ‘पानी नपरेपछि कुलो, नहरमा पानीको बहाव घटेको छ। पानीका मुहान, कुँवा सुक्दै गएका छन्, पर्याप्त सिँचाइ भएका मूल, कुवाको मुहान नजिक भएका खेतमा हिलो गरेर बिउ राखिएको छ भने सिँचाइ कम सुविधा भएका ठाउँमा धुले ब्याड तयार भएका छन्।’
पाण्डेयका अनुसार यस क्षेत्रका अकासे पानीको भरमा मात्र खेती लगाइने जग्गामा बिउ राख्न अझै बाँकी छ। कुलो, नहरमा ल्याइएका पानी खेतको मुहानमा पुग्न धौ–धौ अवस्था छ। बिहानैदेखि रात नपरुन्जेलसम्म चर्को घाम लागेकाले कुलो तथा नहरमा ल्याइएको पानी खेतसम्म लैजान कठिनाइ छ।
ब्याडमा बिउ सुक्ने अवस्था हुन थालेपछि किसानले बोरा, स्याउलाले दिनभर छोपेर राख्ने गरेका छन्। महँगो मूल्यमा बजारका एग्रोभेटमा बिउ खरिद गरेर ब्याड राखेका किसान सिँचाइ पर्याप्त दिन नपाउँदा उम्रन नपाईकन बिउ बिग्रने चिन्तामा छन्। वर्ष दिन खाने खेती समयमै बिउ राख्न नपाउँदा र ब्याडमा पर्याप्त सिँचाइ दिन नसक्दा किसान पिरोलिएका छन्।
खेती लगाउने समयमा हरेक वर्ष किसानलाई केही न केही समस्या निम्तिएको हुन्छ। कहिले रासायनिक मल अभाव त कहिले धानको बिउ अभाव, समयमा वर्षा नपर्नुजस्ता समस्याले किसानलाई सताइरहेको हुन्छ। दिगो र भरपर्दो सिँचाइको व्यवस्थापन हुन नसक्दा बिउ राख्न तथा बालीनाली लगाउन समस्या भइरहेको छ।