NadaNada
शुक्रबार, भदौ ६, २०८२

नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालन

 |  शुक्रबार, असार १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १, २०८०

vianetvianet

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ। रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सबस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको विद्युत् प्राधिकरणले बताएको हो।

सबस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन्। स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइन निकालिएका छन्। 

३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत् सहकारीलाई आपूर्ति दिइनेछ। उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो। तर सबस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो।

१३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ। नयाँ खिम्ती सबस्टेसनमा माथिल्लो तामाकोसीसहित खिम्ती र लिखु नदी करिडोरका जलविद्युत् आयोजनाको विद्युत् जोडिएको छ। ती आयोजनाबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युत्लाई १३२/३३ केभी सबस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ।

Metro Mart

बाँकी विद्युत्लाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्केबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सबस्टेसनतर्फ प्रवाह गरिएको छ। १३२/३३/११ केभी सबस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ।

रामेछापको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, बतेश्वर तथा तामाकोसी गाउँपालिकाअन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ। दोलखाका ती क्षेत्रमा अहिले लामासाँघु सबस्टेसबाट विद्युत् आपूर्ति हुँदै आएको थियो। साथै, सिन्धुलीको सुनकोसी, फिकल र गोलाञ्जोर गाउँपालिकाअन्तर्गतका क्षेत्रमा समेत नयाँ खिम्ती सबस्टेसनबाट विद्युत् आपूर्ति दिइनेछ। 

नयाँ खिम्ती सबस्टेसनबाट आपूर्ति दिन सुरु भएपछि रामेछापलगायतका जिल्लाको विद्युत् पर्याप्त, भरपर्दो र गुणस्तरीय भएको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

‘नयाँ खिम्ती सबस्टेसनमा जोडिएका जलविद्युत् आयोजनाको विद्युत् सिन्धुपाल्चोकको लामोसाँघु हुँदै काठमाडौं र धनुषाको ढल्केबरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने तथा बढी भएको ढल्केबर–मुजफ्फरपुर हुँदै भारततर्फ निर्यात हँुदै आएको थियो। नयाँ खिम्तीमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि पूर्वाधार नहुँदा आफ्नै जिल्लामा ठूलो सबस्टेसन भएर पनि त्यहाँबाट आपूर्ति नपाउँदा त्यस भेगका उपभोक्ता भरपर्दो र गुणस्तरीय विद्युत् उपभोगबाट वञ्चित थिए’, कार्यकारी निर्देशक घिसिङले भने।

नयाँ खिम्तीबाट २२० केभी प्रसारण लाइनमार्फत ढल्केबर पुगेको विद्युत्लाई ३३ केभी प्रसारण लाइनबाट फेरि यतै ल्याएर सिन्धुली, रामेछापमा आपूर्ति गरिएकामा लामो लाइन हुँदा ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या भइरहे पनि अब नयाँ खिम्तीबाट आपूर्ति हुन थालेपछि विद्युत् आपूर्तिका समस्या समाधान भएका छन्। उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् पाउने उनले बताए। 

ढल्केबरबाट मन्थलीसम्मको ३३ केभी प्रसारण लाइनको लम्बाइ करिब ८०  किलोमिटर छ। लामो तथा जंगलैजंगलबाट आएको लाइनका कारण रामेछाप र सिन्धुलीका उपभोक्ताले ट्रिपिङ, न्यून भोल्टेजलगायतका समस्या बेहोर्दै आएका थिए। अहिले नयाँ खिम्तीबाट विद्युत् आपूर्ति दिन थालेपछि लाइनको लम्बाइ घट्दा त्यस क्षेत्रको विद्युत् आपूर्तिमा सुधार हुने, लाइन मर्मतसम्भारमा सजिलो हुने आयोजनाका प्रमुख अनुप गौतमले बताए।

सिन्धुलीको खुर्कोटस्थित सबस्टेसनसम्म नयाँ खिम्ती सबस्टेसनबाटै विद्युत् आपूर्ति दिइनेछ। त्यसपछि खुर्कोट सबस्टेसनबाट विद्युत् आपूर्ति हुने सिन्धुलीका सुनकोसी, गोलाञ्चोर र फिकल गाउँपालिकाको विद्युत आपूर्तिमा पनि सुधार हुनेछ। अहिले ती सबै क्षेत्रमा ढल्केबर सबस्टेसनमार्फत आएको लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको छ।  

नयाँ खिम्तीमा १३२/३३ केभीको सबस्टेसन पूर्वाधार निर्माण आर्थिक वर्ष २०७६/७७ मा सुरु गरिएको थियो। सरकार तथा प्राधिकरणको लगानीमा निर्माण भएको सबस्टेसनको लागत करिब ८० करोड रुपैयाँ छ। 

प्रकाशित: Jun 16, 2023| 12:20 शुक्रबार, असार १, २०८०
प्रतिक्रिया दिनुहोस्