शुक्रबार, जेठ १, २०८३

नेपाल–युएईबीच श्रम सम्झौता नवीकरण

नेपालले नेपाली श्रमिकका लागि राखेका प्रस्ताव सम्बोधन गर्न युएई तयार।
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं– नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) सरकारबीच श्रम सम्झौता नवीकरण भएको छ। नेपाल र युएई सरकारबीच सन् २०१९ जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारीबमोजिमको संयुक्त कार्यसमितिको तेस्रो बैठकले आगामी चार वर्षका लागि स्वतः नवीकरण हुने समझदारी भएको हो।

National life

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा सम्पन्न बैठकमा युएई सरकारका अब्दुल्ला अलनुइमीले नेपालबाट घरेलु कामदार लैजान इच्छुक रहेको बताउँदै सोको प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका थिए। 

बैठकमा नेपालले नेपाली श्रमिकलाई युएईमा न्यूनतम तलबको सुनिश्चितता, मृत्यु हुने नेपाली श्रमिकको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था र जेल तथा कैदमा रहेका नेपाली श्रमिकको विवरणका विषयमा प्रस्ताव राखेको थियो। 

नेपालबाट समितिमा भाग लिने कार्यदलको नेतृत्व गरेका मन्त्रालयका सहसचिव राजीव पोखरेलले द्विपक्षीय समझदारीको पुनरवलोकनका साथै नेपाल सरकारको श्रम तथा वैदेशिक रोजगारसम्बन्धी पछिल्ला कानुनबारे जानकारी दिएका थिए।

उनले नेपाली श्रमिकको विवरण तथा अभिलेखबद्ध रूपमा युएईमा रहेका नेपाली श्रमिकलाई आममाफीसहित नेपाल फिर्तीमा सहजीकरणका विषयमाथि छलफलको प्रस्ताव राखेका थिए।

नेपाली श्रमिकको सीप स्तरोन्नतिका लागि द्विपक्षीय सहकार्य, स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियाजस्ता विषयमाथि छलफल भएको मन्त्रालयका उपसचिव कविराज उप्रेतीले जानकारी दिए।

बैठकमा युएई सरकारका तर्फबाट नेतृत्व गरेका सहायक उपसचिव अब्दुल्ला अलनुइमीले नेपालबाट राखिएका प्रस्ताव सम्बोधन गर्न युएईको श्रम बजारको अवस्था चित्रण गर्दै आफ्नो कार्यदल र मानव संसाधन र प्रवासी मन्त्रालय सकारात्मक रहेको धारणा राखेका थिए।

प्रकाशित: Jun 15, 2023| 11:24 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्