शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • प्रतितोला ९०० ले घट्यो सुन मूल्य, २ प्रतिशत विलासिता कर खारेज

प्रतितोला ९०० ले घट्यो सुन मूल्य, २ प्रतिशत विलासिता कर खारेज

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं– बुधबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। मंगलबार प्रतितोला ३०० बढेको सुनको मूल्य आज प्रतितोला ९००  सयले घटेको हो।

National life

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २५० मा कारोबार भइरहेको छ।मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४५० मा किनबेच भएको थियो।

सुनचाँदी कारोबारमा विलासिता कर नलाग्ने

सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ। आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट वक्तव्यमा १० लाखमाथिको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो।

सुनचाँदी व्यवसायीले मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी कर फिर्ता माग गरेका थिए। भेटमा अर्थमन्त्री डा. महतले सुनचाँदी कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताए।

उनले भने, ‘हामीले हीरा, जवाहरत, पत्थरजस्ता महँगा सुनचाँदीजडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौं। यस्ता वस्तु जडान नगरिएका सुनचाँदीका गरगहनामा कर लगाइँदैन।’ सुनका गरगहना हुनेखानेदेखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकाले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको अर्थमन्त्रीको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको सुनचाँदी व्यवसायमा आबद्ध तीन महासंघको संयुक्त भेटका क्रममा मन्त्री महतले भन्सार दर वृद्धि गर्नुपरेका कारण भने भारतीय र नेपाली बजारमा समान दर बनाउन भएको प्रस्ट पारे। 

व्यवसायीको मागअनुसार विदेशबाट आउने नेपालीले ल्याउने गहनाको परिणाम वृद्धि गर्न र व्यवसायीलाई परेको अप्ठ्यारो विषय सल्ट्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै अर्थमन्त्री महतले व्यवसायीको माग शीघ्र सम्बोधन गरिने प्रतिबद्धता जनाएको महासंघले बताएको छ।

प्रकाशित: Jun 14, 2023| 12:09 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्