काठमाडौं- नेपाल यूएई चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीजले परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदसँग भेट गरी दुई मुलुक बीचका व्यापार व्यवसाय र पर्यटन क्षेत्रका समस्या र सम्भावनाहरुको प्रतिवेदन पेस गरेको छ।
संघका अध्यक्ष पवनकुमार अग्रवालसहित केही महिनाअघि यूएईको स्थलगत भ्रमणमा समेत गएको प्रतिनिधिमण्डलले आइतबार मन्त्री साउदलाई स्थलगत अध्ययनसहितको प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा दुई मुलुकबीचको आर्थिक सम्बन्ध नयाँ उचाइमा पुर्याउन गर्नुपर्ने विवरणहरु समावेश छन्।
प्रतिनिधिमण्डलले यूएईसँग विदेशी लगानी संरक्षण सम्झौता गर्न माग गरेको छ। लगानी संरक्षण सम्झौता लागू गर्दा यूएईका व्यवसायीहरूले नेपालमा लगानी गर्न सुरक्षित महसुस गर्ने संघका अध्यक्ष अग्रवालले मन्त्री साउदलाई जानकारी गराए।
‘यसले भेदभाव र अनुचित व्यवहारविरुद्ध कानुनी सुरक्षा प्रदान गर्नेछ। यूएईका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्नेछ,’ अग्रवालले भने, ‘यसबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई), आर्थिक वृद्धि, रोजगारी सृजना र ज्ञान हस्तान्तरणमा वृद्धि हुनेछ।’
चेम्बरले सम्झतामा हस्ताक्षर गरेर नेपालले अन्तर्राष्ट्रिय जगतसामु विश्वास बढाउन अनुकूल व्यापार वातावरण सिर्जना गर्ने जनाएको छ। यसले विदेशी लगानीको संरक्षण र व्यवसाय प्रवर्द्धन गर्न नेपालको प्रतिबद्धतालाई संकेत गर्ने उल्लेख गर्दै यूएईका व्यवसायीहरूले नयाँ प्रविधि, व्यवस्थापकीय सीप र बजार अन्तर्दृष्टि ल्याउने छन्, जसले नेपालको विभिन्न क्षेत्रहरूलाई फाइदा पुर्याउने उल्लेख छ।
संघका अनुसार संयुक्त अरब इमिरेट्समा हाल ४ लाख नेपाली कामदारले रोजगारी गरिरहेका छन्। युएई रेमिट्यान्सको प्रमुख स्रोत मात्र नभइ नेपालको तेस्रो ठूलो व्यापार साझेदार पनि हो।
संघले यूएईसँग दोहोरो करमुक्ति सम्झौता गर्न पनि माग गरेको छ। नेपाल र युएई बीचको दोहोरो कर सम्बन्धी सम्झौता कार्यान्वयनले विशेष गरी यूएईमा बस्ने र कर तिर्ने नेपाली व्यक्तिहरूलाई धेरै फाइदा पुग्ने संघको भनाइ छ। दुवै देशहरूले समान आम्दानीमा व्यक्तिहरूलाई कर नलगाउने यो व्यवस्थाले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने संघको भनाइ छ।
संघका अनुसार नेपालले यसबाहेक युएईमा ‘भिजिट नेपाल’ अभियान सुरु गर्नुपर्ने तथा यूएईबाट नेपालमा पर्यटक भित्र्याउन पहल गर्नुपर्ने जनाएको छ। हालको पर्यटक आगमन धेरै कम भएकोले, लक्षित प्रचारात्मक पहलहरू, जस्तै मार्केटिङ अभियानहरू र ट्राभल एक्सपोमा सहभागिताले प्रभावकारी रूपमा सचेतना जगाउने र सम्भावित पर्यटकहरूमा चासो उत्पन्न गर्ने जनाएको छ।
संघको सुझावपछि परराष्ट्रमन्त्री साउदले यूएईसँग यसअघि भएका सम्झौताहरुको समीक्षा र पुनरावलोकन गर्दै दुवै मुलुकलाई मान्य हुनेगरी विस्तृत सहमति र सम्झौता हुनुपर्ने धारणा राखे। मन्त्री साउदले नेपाल यूएई चेम्बरको अध्ययन प्रतिवेदन आफूहरुका लागि मार्गदर्शक हुनसक्ने उल्लेख गर्दै आर्थिक कूटनीतिलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताए।
छलफमा अग्रवालसहित उपाध्यक्ष जीवन भण्डारी, मोहनवीर थापा, चन्द्र टण्डन, अनोज रिमाल, विनय उपाध्याय लगायतको सहभागिता थियो। परराष्ट्र मन्त्रालयका तर्फबाट सहसचिव तेजबहादुर क्षेत्री सहभागी थिए।