शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चितवन, डडेल्धुरा र नुवाकोटमा बजेट नखन्याएको अर्थमन्त्री महतको प्रस्टीकरण

चितवन, डडेल्धुरा र नुवाकोटमा बजेट नखन्याएको अर्थमन्त्री महतको प्रस्टीकरण

सत्ता गठबन्धनमा आबद्ध नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको गृहजिल्ला चितवन, देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा बढी बजेट रकम हालिएको रिस पोखेपछि महतले दिए प्रस्टीकरण।
 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं– अर्थमन्त्री डा. प्रकाशशरण महतले तीन जिल्लामा बढी बजेट रकम विनियोजन गरिएको विषय असत्य रहेको स्पष्टीकरण दिएका छन्।

National life

सत्ता गठबन्धनमा आबद्ध नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवन, कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा र अर्थमन्त्रीको गृहजिल्ला नुवाकोटमा बढी बजेट विनियोजन गरिएको बताएपछि महतले यस्तो प्रस्टीकरण दिएका हुन्।  नेता नेपालले बजेट नसच्याए सरकार गिराइदिने चेतावनी हिजो मात्रै दिएका थिए।

आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा उठेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री महतले तीन जिल्लामा विनियोजन गरिएको बजेट ठूलो नभएको दाबी गरे।

‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि पुँजीगततर्फ १२३ अर्ब विनियोजन भएको छ। त्यसैले तीन जिल्लामा छुट्ट्याएको रकम ठूलो होइन’, उनले भने।  उनले कतिपय पहाडी जिल्लामा अझै पनि आधारभूत सडक पूर्वाधार अपर्याप्त रहेकाले आवश्यकताका आधारमा सडक आयोजनामा विनियोजन बढाउनुपरेको स्पष्ट पारे।

अर्थमन्त्री महतले मधेस प्रदेशमा पनि राम्रो बजेट विनियोजन गरिएको बताए । ‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज करिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग, सुनकोसी मरिन, बागमती, कमला, चन्द्र नहरलगायतका सिँचाइ आयोजना मधेस प्रदेश लक्षित राष्ट्रिय गौरव तथा ठूला आयोजनामा उल्लेख्य रकम विनियोजन भएको छ’, उनले भने।

उनले तराई मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्गमा पनि उल्लेख्य बजेट विनियोजन भएको बताउँदै विभिन्न औद्योगिक पूर्वाधार तथा व्यापारिक पूर्वाधार आयोजना मधेस प्रदेशमै सञ्चालित रहेकाले बढी बजेट विनियोजन गरिएको दाबी गरे। सहरी विकास र खानेपानीतर्फ समेत उल्लेख्य रकम मधेस प्रदेशमा विनियोजन भएको उनको भनाइ छ। 

मधेस प्रदेशमा ठूलो जनसंख्या भएकाले सामाजिक सुरक्षा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि बजेटको ठूलो हिस्सा विनियोजन हुने गरेको छ। प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण हेर्दा कूल वित्तीय हस्तान्तरणको करिब १५ प्रतिशत मधेस प्रदेशमा गएको उनले बताए।

प्रकाशित: Jun 12, 2023| 15:04 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्