काठमाडौं– मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याएको दाबी अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन्। सोमबार कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र जनतालाई केन्द्रमा राखेर अर्थतन्त्र दौडिने गरी बजेट ल्याएको बताएका हुन्।
उनले भने, ‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन। कुनै स्वार्थ समूहको कुरा नसुनी बजेट निर्माण गरेका हौं। बजेटले सबै क्षेत्रलाई समेटेको छ।’
बजेट निर्माणका क्रममा मन्त्रालयका अवकाशप्राप्त सुब्बालाई प्रयोग गरेर करका दर हेरफेर गरेको विषयबारे भने उनले बोलेनन्। उनले भने ‘जनताका आकांक्षा धेरै छन् तर स्रोत–साधन सीमित छन्। भएका स्रोत–साधनलाई उच्चतम प्रयोग गरी अर्थतन्त्रलाई चलायमान बनाउन लाग्नुपर्छ।’
कांग्रेस प्रवक्तासमेत रहेका डा. महतले पार्टीभित्र नेता, कार्यकर्ता अनुशासन बस्नुपर्ने औंल्याए। कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र सुदृढ हुने उनको भनाइ छ।