NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • वर्षाका लागि कतै महादेव पुकारिँदै, कतै भ्यागुताको बिहे

वर्षाका लागि कतै महादेव पुकारिँदै, कतै भ्यागुताको बिहे

लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ। तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ। दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन्।
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

लामो समयदेखि खडेरी परेपछि नारायणगढका युवाहरूले ‘हरहर महादेव पानी देऊदेऊ’ भन्दै बजार परिक्रमा गरेका छन्। उनीहरूले गौरेश्वर पशुपति मन्दिर नारायणगढमा पूजाआजासहित बजार परिक्रममा गरेका हुन्। 

कार्यक्रमका संयोजक मनोज घिमिरेका अनुसार मन्दिरमा पूजा गरेर बाजागाजासहित नारायणगढ बजार परिक्रममा गरिएको हो। लामो समयदेखि पानी नपर्दा जनजीवन प्रभावित बन्दै गएपछि यो कार्यक्रम आयोजना गरिएको उनले बताए। 

हरहर महादेवको पूजा गरेपछि पानी पर्ने विश्वासका साथ पूजा गरी बाजागाजासहित बजार परिक्रममा गरिएको हो। युवाहरूको समूहले बजारको परिक्रममा गरी पुनः मन्दिरमा पुगेर समापन भएको थियो। 

स्थानीयवासीले आआफ्नो घरबाट पानीले स्वागत गरेका थिए। सो क्रममा ‘हरहर महादेव पानी देऊदेऊ, यतिले पुगेन अझै थपिदेऊ’ जस्ता श्लोकहरू गाइएको थियो। लामो समयसम्म पानी नपर्दा जिल्लामा लगाइएका मकै तथा तरकारी बाली सुकेका छन्। यो सँगै जिल्लाको विभिन्न स्थानमा इन्द्र भगवान्को पूजा गरिनुका साथै भ्यागुताको बिहेसमेत गरिएको छ। 

वालिङमा भ्यागुताको बिहे
असार लाग्न थाल्यो। किसानहरू मानो खाएर मुरी उब्जाउने कार्यका लागि खेतबारीमा हुने बेला हो। खेतमा धान रोप्न र बारीमा कोदो रोप्न बीउ राख्ने बेलामा लामो समय खडेरी परेको छ। केही किसानले धान तथा कोदोको बीउ राखिसकेका छन्। केहीले पानीकै अभावका कारण अझै पनि राख्न सकिरहेका छैनन्। खडेरीका कारण बीउसमेत राख्न नपाएका किसान चिन्तित त छँदैछन्। बीउ राखिसकेका किसान पनि बीउ जोगाउन चिन्तित देखिन्छन्।

Metro Mart

केही दिनयता तापक्रम बढ्दै जाँदा मकैका बोटहरू सुक्दै गएका छन्। किसानले व्यावसायिक तथा घरमै प्रयोग गर्न लगाएका तरकारी तथा अन्य बालीहरू सुक्दै गएका छन्। लामो समय पानी नपरेपछि पुर्खाहरूले गर्दै आएको भ्यागुताको बिहे गरी इन्द्रदेवसँग पानी माग गरिएको बेहुली पक्ष वालिङ–६ भरुवाका नारायणप्रसाद भण्डारीले बताए।

वालिङ–८ को ब्याङतुङबाट बेहुला पक्ष जन्तीसहित भरुवा पुगेर विधिपूर्वक भ्यागुताको बिहे गरिएको हो। “पहिले पहिले लामो समयसम्म खडेरी पर्दा पुर्खाहरूले भ्यागुताको बिहे गर्थे”, उनले भने, “चार वर्षअघि पनि यस्तै खडेरीमा भ्यागुताको बिहे गरेका थियौं, उक्त दिन पानी आएको पनि थियो, यसपटक आकाश त गर्जियो तर पानी परेन।”

रूढीवादी परम्पराजस्तो देखिने भ्यागुताको बिहे पूरै विश्वास गर्न पनि नसकिने र कहीँकतै विश्वास पनि अडिएको आफूलाई लाग्ने गरेको उनले बताए। ब्याङतुङबाट भ्यागुतालाई डोलीमा राखेर जन्तीसहित बेहुली लिन गएको बेहुला पक्षका गोपालधन सुवेदीले बताए। स्थानीयवासीको उपस्थितिमा विधिपूर्वक पूजापाठ गरी भ्यागुताको बिहे गरिएको सुवेदीले बताए।

भ्यागुताको विवाह मौसमसँग सम्बन्धित रहेको विश्वास रही आएको छ। भ्यागुता वर्षाको समयमा बाहिर निस्कने भएकाले दुई भ्यागुताको विवाहलाई प्रतीकका रूपमा मान्ने गरिएको छ। भ्यागुता-भ्यागुताबीच सम्बन्ध भएपछि वर्षा हुन्छ भन्ने विश्वास रही आएकाले यसैका आधारमा यहाँका स्थानीयवासीले पानीको आशमा भ्यागुताको बिहे गराएका हुन्। भ्यागुताको बिहे गरेमा इन्द्रदेव खुसी भई पानी दिने विश्वास पनि रही आएको छ। 

लामो समय खडेरी हुँदा तापक्रम बढ्दै गएको छ। तापक्रम बढेकै कारण जनजीवनसमेत प्रभावित भएको छ। दैनिकी तथा स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका छन्।

प्रकाशित: Jun 12, 2023| 06:33 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए। गला अवरुद्ध भए। यो प्रतिनिधि गीत केवल गीत मात्रै...