काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रका समस्या चिन्न नसकेको बताएका छन्। प्रतिनिधिसभामा आइतबार बजेट छलफलमा भाग लिँदै उनले बजेटले समाधानका उपायसमेत पहिल्याउन नसकेको बताए।
उनले भने, ‘यो बजेटले अर्थतन्त्रका समस्या चिन्न सकेको छैन र समाधानका उपाय खोज्न पनि सकेको छैन। विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ। अर्थतन्त्रका चुनौती र सम्भावना पहिचान गर्न नसकेका कारण समधानका उपाय खोज्न सकेको छैन।’ रोजगारीका अवसरमा कमी हुँदै गएको, अकासिँदो मूल्यवृद्धि र मन्दीको मारमा परेको अर्थतन्त्रका विषयमा समेत बजेट बोल्न नसकेको उनले बताए। बजेटले वर्तमान यथार्थ स्वीकार गर्न नसकेको बताउँदै उनले थपे, ‘न वर्तमान संकटको सामना गर्ने संकल्प छ, न पुनर्जीवन दिने प्रयत्न गरिएको छ।’
अर्थमन्त्रीले अर्थतन्त्रमा लागेको डढेलो छोप्ने प्रयत्न गरेको उनको आरोप छ। अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको भन्दै भ्रम छर्ने कोसिस भएको उनले बताए। भने, 'सरकारको आम्दानी र खर्च गर्ने क्षमतामा यो बजेटले प्रश्न उठाएको छ। चालु आर्थिक वर्षको भन्दा आगामी वर्षको कुल विनियोजन कम हुनुले पनि स्रोतसाधन परिचालन गर्न सरकार असक्षम छ भन्ने देखाउँछ।'