काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको बजेटमा आफूहरूले भनेजस्तै आयको अनुमान अविश्वसनीय र व्ययको अनुमान इच्छाप्रेरित रहेको बताएका छन्।
प्रतिनिधि सभामा शुक्रबार बजेटमाथिको छलफलमा बोल्दै सांसद वाग्लेले बजेट सरकारको आय र व्ययको अनुमान भएपनि अविश्वसनीय रहेको बताएका हुन्।
उनले अर्थमन्त्रालयले ल्याउने वार्षिक नीति र राष्ट्र बैंकले ल्याउने मौद्रीक नीतिको तादात्म्य र समन्वयले अर्थतन्त्रलाई लयमा हिँडाउन सहयोग गर्ने बताए। तर विगत दुई वर्षमा वित्त र मौद्रीक नीतिबीच सामञ्जस्य टुट्नाले पनि अर्थतन्त्रमा आवश्यकताभन्दा बढी असहजता देखिएको उनको भनाइ छ।
‘सुकेको व्यापार, गुमाइएको रोजगारी, जोखिममा परेको लगानी र फैलिएको नैराश्यलको उपचार परिक्षित आर्थिक नीति र सत्ताको बागडोर सम्हाल्ने मन्त्रीको नियत र क्षमतामाथि नागरिकले गर्ने विश्वास नै हुन्,’ उनले भने।
उनले हाम्रा बजेटहरू आय र व्ययका अनुमानहरू किन र कसरी फेल भइरहेका छन् भन्ने विषयमा अन्य पार्टीहरूले विश्लेषण नगरेपनि रास्वपाले विश्लेषण गरेको दाबी गरे। ‘भूकम्पछिका ९/१० वर्ष , शान्ति प्रक्रियापछिका १५ वर्ष, बहुदलपछिका ३२ वर्ष र पञ्चायतलाईसमेत जोडेर विगत पचास वर्ष अवधिको तथ्यांक र विश्लेषण गरेका छौं,’उनले भने।
उनले एउटै सालको व्यय र आयको अनुमानमा झन्डै झन्डै ६ प्रतिशत बिन्दुको फरक पर्ने र यसले बजेटका अन्य अनुमानहरू त्यति विश्वसनीय नबनाउने बताए। वाग्लेले भूकम्पपछि पुनःनिर्माण र त्यसपछिका वर्षहरूमा ह्वात्तै बढेको बजेट व्यवस्थापन गर्न नसकेको पनि उनको भनाइ छ।