शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को मूल्यवृद्धि 

पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा चर्को मूल्यवृद्धि 

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

काठमाडौं- तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ।

National life

यस अवधिसम्ममा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौँ उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको छ। त्यस्तै, तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ।

वैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २६ दशमलव ६१ प्रतिशत, रेष्टुरेन्ट तथा होटलको १४ दशमलव ८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १३ दशमलव ६९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १० दशमलव ४१ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४९ प्रतिशतले बढेको छ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५ दशमलव ७५ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १३ दशमलव ०८ प्रतिशत, शिक्षाको १० दशमलव ५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको नौ दशमलव ६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको आठ दशमलव २७ प्रतिशतले बढेको छ।

गत वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको छ। उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ भने निर्माण सामग्रीको थोक मूल्यवृद्धि दुई दशमलव ६८ प्रतिशत रहेको छ।

प्रकाशित: Jun 09, 2023| 21:41 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्