NadaNada
शनिबार, भदौ ७, २०८२

महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम

 |  शुक्रबार, जेठ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

vianetvianet

गोरखा- बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ। गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए।

गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत प्राविधिक सीप विकास तालिममार्फत महिलाका लागि एकमहिने मुढा बुन्ने तालिम दिइएको उनले बताए। गाउँपालिका–४ स्थित देवी महिला लद्युउद्यमी समूहमा आबद्ध ११ महिलाले तालिम लिएर व्यावसायिक उद्यम सुरु गरेका अध्यक्ष भट्टको भनाइ छ।

‘तालिम लिएका सबै महिलाले अहिले व्यावसायिकरुपमा मुढा बुन्ने पेसा सुरु गरिसकेका छन्’, उनले भने, ‘तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके आर्थिक आम्दानीका साथै जीविकोपार्जनमा पनि सहज हुन्छ भन्ने कुरा उहाँहरुले थालेको उद्यमबाट पुष्टि भएको छ।’

समूहले उत्पादन गरेको मुढा प्रतिव्यक्ति रू १० हजारसम्ममा गाउँपालिकाले खरिद गरिदिएको गाउँपालिका अध्यक्ष भट्टले बताए। ‘नव उद्यमीको प्रोत्साहनका लागि समूहले पहिलो चरणमा उत्पादन गरेको मुढा पालिकाले खरिद गरेको छ’, उनले भने, ‘एघार जनाको समूहलाई प्रतिव्यक्ति रू १० हजार पर्ने गरी सोही बराबरको मुढा खरिद गरिएको हो।’

समूहमा आबद्ध सबै महिलाले समूहमार्फत मुढा उत्पादन सुरु गरेको समूहकी अध्यक्ष सुनिता गुरुङले बताइन्। तालिमबाट आफूहरुलाई दैनिक आयआर्जनका लागि बाटो खुलेको उनको भनाइ थियो। ‘स्थानीय स्रोत र साधनको प्रयोग गरेर घरमै बसीबसी आम्दानी गर्नसक्ने अवस्था मुढा बुन्ने तालिमले प्रदान गरेको छ’, अध्यक्ष गुरुङले भनिन् ‘यसबाट हामी समूहमा आबद्ध महिला उत्साहित भएका छौँ।’ उनले उत्पादित सामग्री बजार व्यवस्थापनका लागि समस्या हुनेमा चिन्ता व्यक्त गरिन्। 

Metro Mart

‘गाउँपालिकाले महिलालाई उद्यमसँग जोड्दै दैनिक आयआर्जन गर्नसक्ने बनाउने काम थालेको छ। महिलाले सीप सिकेर व्यवसाय सुरु गरेसँगै पालिकास्तरमा स्वरोजगारको विकासमा मद्दत पुग्छ’, अध्यक्ष गुरुङले भनिन्। पालिकाले महिलाका लागि उद्यमसँग जोड्ने अन्य उपयोगी तालिम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिइन्। 

बारपाक सुलिकोट गाउँपालिका पालिकाभित्र युवायुवतीलाई स्वरोजगार बनाउनका लागि प्लम्बिङलगायत अन्य तालिमसमेत प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jun 09, 2023| 22:32 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्