काठमाडौं- नेपाली कांग्रेसमा पछिल्लो समय 'रुपान्तरण' को नारा व्यापक चलेको छ। गत वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार पराजित भएपछि महामन्त्री गगनकुमार थापाले वैशाख १३ गते सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै 'कांग्रेस रूपान्तरणको स्पष्ट मार्गचित्र लिएर आउने' बताए।
उनले लेखे, 'आम अपेक्षाअनुरुप परिणाममुखी भूमिका निर्वाह गर्न कहीँ कतै म स्वयं पनि खरो उत्रन सकिनँ कि भनेर आत्मसमीक्षा र आत्मनिरीक्षण गरिरहेको छु। पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउनेछौं। त्यो रुपान्तरण योजना सार्थक बनाउन जुनसुकै कठोर निर्णय लिन पनि तयार हुनैपर्छ भन्नेमा म प्रष्ट छु।'
त्यसको १० दिनपछि सामाजिक सञ्जालमै फेरि लेखे- 'कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडें, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !'
कांग्रेस महामन्त्रीले पटक-पटक सामाजिक सञ्जालमै यसो भनिरहँदा गगनले पार्टी फुटाउन सक्नेसम्मका आकलन पनि सामाजिक सञ्जालमै देखिए भने केहीले कांग्रेस रुपान्तरणका लागि गगनले युवाहरुलाई साथमा लिएर विभाजन गर्दै अघि बढ्नुपर्ने सुझाए पनि दिए। पार्टी नेतृत्वलाई धारेहात लगाएर आफ्नो 'राजनीतिक माइलेज' लिइरहेका गगनले अहिले पनि विरोध गर्नुलाई स्वाभाविक भन्नेहरु पनि कांग्रेसभित्रै छन्।
उपनिर्वाचनका क्रममा तनहुँ पुगेर कांग्रेस छोडेर गएका स्वर्णीम वाग्लेविरुद्ध उम्मेदवार बनेका गोविन्द भट्टराईलाई भोट माग्दै 'हरिले देख्छन्' भनेपछि भने गगनको वैचारिक स्खलन सुरु भएको टिप्पणीहरु भए। सभापति देउवाविरुद्ध संसदीय दलमा उम्मेवारी दिएर पराजित भएका गगन पछिल्लो समय हतासमा देखिन्छन्। उनको अभिव्यक्ति र व्यवहारले उनलाई हतासमात्र होइन, हतारो पनि छ पार्टी नेतृत्वमा पुग्ने।
यसअघि गत मंसिरमा भएको निर्वाचनअघि मत माग्न बनाइएको एक भिडियोमा थापाले आफूले अब १० वर्षमात्र सक्रिय राजनीति गर्ने बताएका थिए। यसरी गगनले आफ्नो राजनीतिको उमेर हद तय गरेको पहिलो पटक भने होइन। यसअघि २०७२ सालमै आफूले १५ वर्ष सक्रिय राजनीति गर्ने बताएका थिए। उनले भनेका थिए, 'मैले यो निर्णय लिएँ कि ५५ वर्ष (२०८८ साल) देखि राजनीतिको कार्यकारी पदमा बस्दिनँ। ५५ वर्षसम्म राजनीतिमा जे-जति जिम्मेवारी लिने हो कोसिस गर्छु, यसो गर्न अझै मलाई १५ वर्ष छ।'
महामन्त्री थापा आफैंले पद प्राप्तिका लागि निर्धारण गरेको उमेर घर्किँदै जाँदा पार्टी नेतृत्व हात पार्ने हतारो पनि छ। यसका लागि उनले हरसम्भव प्रयास गरिरहेका छन्, जसलाई राजनीतिमा स्वाभाविक पनि मानिन्छ।
उपनिर्वाचनको परिणाम, सत्ता समीकरणमा लेनदेन र नक्कली भुटानी शरणार्थी प्रकरणले आन्तरिक शक्ति संघर्ष चुलिएको समयमा नेतृत्वमाथि प्रहार गरेर आफ्नो राजनीतिक खपत बढाउन पाएको मौकाको सदुपयोग गरिरहेका छन् उनी। उनले सार्वजनिक मञ्चहरुबाटै सभापति देउवामाथिको प्रहार तीव्र बनाएका छन्। १९ जेठमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले देउवाको अकर्मण्यताले भएका गल्तीको भार कांग्रेसले नबोक्ने उद्घोष गरे। 'जसले गल्ती गर्छ, दण्डित पनि उही हुनुपर्छ। हामी आफूले गर्दै नगरेको गल्तीको भारी बोक्न सक्दैनौं,' महामन्त्री थापाले भनेका थिए, 'नेपाली कांग्रेस कसैको प्राइभेट कम्पनी होइन, एउटा व्यक्तिको मनमौजी चल्ने कुरा सम्भव छैन।'
महामन्त्री थापा आफैंले पद प्राप्तिका लागि निर्धारण गरेको उमेर घर्किँदै जाँदा पार्टी नेतृत्व हात पार्ने हतारो पनि छ। यसका लागि उनले हरसम्भव प्रयास गरिरहेका छन्, जसलाई राजनीतिमा स्वाभाविक पनि मानिन्छ।
यतिमात्र होइन महामन्त्री गगनकै 'ब्याकअप'मा चुनाव हारेका तथा पद नपाएका केही युवाहरुले रुपान्तरणको नाममा देशव्यापी अभियान चलाइरहेका छन्। नेतृत्वप्रतिको वितृष्णाको कारण कार्यकर्तामा निराशा आएको आरोप लगाउँदै असन्तुष्ट नेताहरुको समूहले कर्णाली प्रदेशमा भेला गरेको छ। पार्टी सभापति देउवाको गृह प्रदेश सुदूरपश्चिममा भने उक्त अभियान निराश भएको छ।
असन्तुष्ट नेताहरुको समूहले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रूपान्तरण अभियानअन्तर्गत 'सुदूरपश्चिम प्रदेश विशेष कार्यक्रम' राखेकै दिन शुक्रबार कैलाली कांग्रेसले छुट्टै कार्यक्रम गरिरहेको छ। सभापति देउवालाई दोषारोपण गर्दै ५ प्रदेशमा इतर समूहले सम्पन्न गरिसकेको विशेष कार्यक्रम प्रभावित पार्न कैलाली कांग्रेसले धनगढीबाट झण्डै ६० किलोमिटर टाढा जिल्ला कार्यसमिति बैठक बोलाएको उक्त समूहको आरोप छ। यद्यपि, कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जिल्ला कार्यसमिति बैठकलाई नियमित बैठक भनेका छन्। रुपान्तरण अभियानमा गुरु घिमिरे, डा. गोविन्दराज पोखरेल, मधु आचार्य, भुपेन्द्रजंग शाही, रञ्जित कर्ण, देवराज चालिसेलगायत नेताहरु छन्।
देउवा-शेखर प्याचअप तगारो
धेरैको तर्क छ- महामन्त्री जस्तो जिम्मेवार पदमा रहेर सार्वजनिक मञ्चबाट पार्टी नेतृत्वमाथि आक्रमण गर्नुको साटो पार्टीभित्र एकता कायम गर्दै बैठक बोलाउन पहल गर्नुपर्ने हो गगनले। विगत १० महिनादेखि कांग्रेसको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। भ्रातृसंस्थाहरु मृतप्राय: छन्। पार्टीको नीति अधिवेशनको मिति अझै तोक्न सकिएको छैन। पार्टीप्रतिको वितृष्णा चुलिएको छ। महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्ति भने सार्वजनिक मञ्चमा गएर नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेका छन्।
निरन्तर प्रहारपछि सभापति देउवाले नेतृत्वलाई गाली गरेर केही नहुने भन्दै एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्। उनले भनेका छन्, 'पार्टी बनाउनका लागि जनतासँग जानुपर्छ, जनसम्पर्क चाहिन्छ। पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस्। गाली गरेर केही हुनेवाला छैन। विरोध गरेर पार्टी बन्नेवाला छैन। मैले त पार्टीलाई पहिलो बनाएँ, संसद्मा। क्याम्पसको चुनावमा समेत नेविसंघ पहिलो बनेको छ। अहिले पार्टीले जितेको छ। मैले त जिताएँ, अब म पार्टी सभापति हुनेवाला होइन, मैले त सहयोग गर्नेमात्रै हो। तपाईंहरू एकताबद्ध भएर अघि बढ्नुहोस्।'
आफू सभापतिमा फेरि नलड्ने घोषणा गरेका देउवाले आगामी महाधिवेशनमा यसअघिका प्रतिस्पर्धी शेखर कोइरालालाई सहयोग गर्छन् भन्ने अनुमान हुन थालेको छ। यसअघि संसदीय दलमा आफूलाई समर्थन गर्न बाध्य बनाएको भन्दै शेखर पनि देउवासँग नजिकिएका छन्, जसबाट सशंकित भएर महामन्त्री थापाले नेतृत्व परिवर्तनका लागि महाधिवेशन पर्खिन नसकिने बताएका छन्। गगन भन्छन्, 'सामान्य प्रक्रिया र अवस्थाले अब कांग्रेस सुध्रिने अवस्था छैन। यहाँ त अब एकपछि दस आउने अवस्था बन्न सक्छ। ठ्याक्कै के गर्ने भनेर मलाई पनि थाहा छैन। अहिलेको अवस्था असामान्य हो। त्यसैले १५ औं अधिवेशन कहिले हुने, यसरी पो समस्याको समाधान निस्कन्छ कि भनेर पर्खने अवस्था छैन।'
धेरैको तर्क छ- महामन्त्री जस्तो जिम्मेवार पदमा रहेर सार्वजनिक मञ्चबाट पार्टी नेतृत्वमाथि आक्रमण गर्नुको साटो पार्टीभित्र एकता कायम गर्दै बैठक बोलाउन पहल गर्नुपर्ने हो गगनले।
महामन्त्री थापाले आफू सभापति हुने हतार गरिरहँदा यसअघि 'एक पटक यसै पटक' नारा लगाएर सभापतिको उम्मेदवार बनेका शेखर कोइराला भने आफू जसरी पनि पार्टी सभापति हुने ध्याउन्नले देउवासँग नजिकिएका छन्।
यतिमात्र नभएर पछिल्लो समय शेखरले देउवासँग मञ्च सेयर नै गर्न लागे छन्। कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले जिल्ला सम्मेलनको अवसर पारेर दुवै नेतालाई एकै मञ्चमा उभ्याउन लागेका हुन्। जेठ २७ गते भक्तपुरको कालोपाटीस्थित एक ब्याङ्क्वेटमा हुन लागेको जिल्ला सम्मेलनमा उनले सभापति देउवालाई प्रमुख अतिथि र इतर समूहको नेतृत्व गरिरहेका नेता कोइरालालाई विशेष अतिथिका रुपमा निम्त्याएका छन्।
सम्मेलनका लागि जिल्ला कार्यसमितिले सहमहामन्त्री बद्री पाण्डेलाई प्रमुख वक्ताका रुपमा आमन्त्रण गरेको छ। तर, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भने निमन्त्रणा गरिएको छैन। थापा र शर्मालाई आमन्त्रण नगर्नुको कारणबारे थापाले भने, 'उहाँहरुलाई धेरै पटक बोलाइसकेका छौं। फेरि उहाँहरु रुपान्तरण अभियानमा हुनुहुन्छ। पार्टी रुपान्तरण गर्ने भनेर व्यस्त हुनुहुन्छ। किन डिस्टर्ब गर्नु !'
१४ औं महाधिवेशनमा एकअर्कासँग प्रतिस्पर्धा गरेर पछिल्लो समय नजिकिन थालेका सभापति देउवा र नेता कोइरालाले सरकारमा मन्त्री पठाउँदा आ–आफ्नो समूहमा आफूखुसी गरेका थिए। यसमा आफ्नो सल्लाह नमानेको भन्दै शेखर र गगनबीच पनि खटपट परेको थियो। यसरी आफूलाई रोक्नका लागि आफ्नै समूहको नेता आफूले विरोध गरिरहेको पार्टी नेतृत्व सभापतिसँग मिल्न थालेपछि गगनलाई शेर-शेखरको मिलन तगारो भएको महसुस भएर हतोत्साही भएर आक्रमण तीव्र पारेको पनि विश्लेषणहरु हुन थालेका छन्।
सभापति देउवा प्रधानमन्त्रीबाट बाहिरिएसँगै धुम्बाराहीमा शेखरसँगको संवाद र सहकार्य गहन बन्दै गएको थियो। गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणदेखि दुई नेताबीचको भेटवार्ताले सम्बन्ध थप सुमधुर बन्दै गएको चर्चा भएको थियो।
महाधिवेशन सम्पन्न भएको झण्डै एक वर्षसम्म प्रतिस्पर्धी नेता कोइरालालाई पार्टीको आन्तरिक छलफलमा बेवास्ता गरेका सभापति देउवाले पछिल्लो समय पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा पनि आमन्त्रण गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पनि शेखरले सभापति देउवाकै ‘लाइन’ मा सहमति जनाएका थिए। यद्यपि समूहबाट महामन्त्रीमा निर्वाचित थापा र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले फरक मत दर्ज गराउँदा पनि शेखरले भने बेवास्ता गरे।
यसरी शेखरले आफूसँग दूरी बढाउँदै लगेको र देउवासँग नजिकिँदै गएको देखेर महामन्त्री थापा र उनी निकट नेताहरु सशंकित बनेका हुन्। उनीहरुले शेर-शेखरको प्याचअपलाई गगन रोक्ने तगारोको रुपमा पनि ब्याख्या गर्न थालेका छन्। गगनले पनि आफूसँग रहेका नेताहरुलाई कन्भिन्स गर्न सकेका छैनन् भने महामन्त्री शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेलगायतलाई साथमा राखेर नयाँ सन्देश प्रवाह गर्न सफल हुन सकेका छैनन्।