शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न बाटो खुल्यो

प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता गर्न बाटो खुल्यो

 |  शुक्रबार, जेठ २६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २६, २०८०

सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व माओवादी नेता बाबुराम भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ। पूर्व माओवादी बालसेनाका तर्फबाट लेनिन विष्टलगायतको रिट यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरेको थियो।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार दरपीठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको हो। निवेदकको पक्षबाट अभिवक्ता स्वागत नेपाल, वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी, विष्णु भट्टराईलगायतले बहस गरेका थिए।

माओवादी सशस्त्र द्वन्द्वकालका घटना संक्रमणकालीन न्याय संयन्त्रले सम्बोधन गर्न उपयुक्त हुने भन्दै रजिस्ट्रार नारायणप्रसाद पन्थीले जेठ १६ गते रिट दर्ता नहुने आदेश दिएका थिए।

सशस्त्र द्वन्द्वकालका बालसेनाको योगदानको अवमूल्यन गरेको भन्दै पूर्व बालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाल, रामेश्वर खड्का, शोभा रायमाझी, तुलसी नेपाल, सागरकुमार चौहान, मदन राई, राजन तामाङ र खेमबहादुर राई रिट लिएर सर्वोच्च अदालत गएका थिए।

सर्वोच्चको आदेशसँगै प्रचण्ड र बाबुरामलाई प्रतिवादी बनाइएको रिट दर्ता गर्ने बाटो खुलेको छ। प्रचण्ड बहालवाला प्रधानमन्त्री हुन् भने बाबुराम पूर्वप्रधानमन्त्री।

 

प्रकाशित: Jun 09, 2023| 14:59 शुक्रबार, जेठ २६, २०८०
प्रतिक्रिया दिनुहोस्